तालिबानसँग नडराऊ हामी सबै सँगै छौं भन्दै सडकमा निस्किए अफगानका महिला

एजेन्सी ।अफगानिस्तान सत्ता कब्जा गरेको कट्टरवादी समूह तालिबानविरूद्ध महिलाहरू सडकमा निस्किएका छन्।

बिहीबार अफगानिस्तानको पश्चिमी सहर हेरातमा दर्जनौं महिलाहरूले र्‍याली निकालेका हुन्।

‘नडराऊ, हामी सबै सँगै छौं’, ‘शिक्षा, काम र सुरक्षा हाम्रा नैसर्गिक अधिकार हुन्’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूको र्‍याली प्रान्तीय गभर्नरको कार्यालयसम्म पुगेको थियो।

द न्युयोर्क टाइम्सका अनुसार हेरात अफगानिस्तानको उदार सहर हो। त्यहाँका हजारौं महिलाले विश्वविद्यालय गएका छन् भने दुई साताअघि तालिबानहरूले सत्ता कब्जा नगरूञ्जेल उनीहरू घरबाहिर विभिन्न काममा जान्थे।

‘हामी तालिबानहरूलाई आफ्नो शक्ति देखाउन चाहन्छौं,’ प्रदर्शनको आयोजना गरेकी मारयामले भन्नु भयो,‘हामी घरभित्रै बस्यौं भने हामी आफ्नो शक्ति देखाउन पाउँदैनौं तर तालिबानहरूले हामीलाई राजनीतिक र सामाजिक भूमिकाबाट हटाउन अरू प्रतिबन्ध लगाउन सक्छन्।’

तालिबानका एक जना नेताले बिबिसी पर्सियन सेवासँग नयाँ सरकारमा महिलाहरूलाई मन्त्रीस्तरको जिम्मेवारी नदिइने बताएको अर्को दिन हेरातमा प्रदर्शन भएको हो।

‘यो प्रदर्शनको उद्देश्य तालिबानलाई सरकारमा महिलाको पनि सहभागिता गराऊ र महिलाबिनाको कुनै पनि सरकार लामो समय टिक्दैन भन्ने सन्देश दिनु हो,’ प्रदर्शन आयोजनामा सघाएकी मानव अधिकारकर्मी बासिराले भनिन्,‘हामी धेरै समय चुप लागेर बस्ने छैनौं।’

आयोजकहरूले आउने दिनमा अफगानिस्तानका अरू सहरहरूमा पनि यस्ता प्रदर्शन हुने बताएका छन्।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker