मोरङमा आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुँदै

विराटनगर । कोरोना महामारीले १८ महिनादेखि बन्द रहेको विद्यालयहरुमध्ये जिल्लाका ५ वटा स्थानीय तहले आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन गर्न लागेका छन् । यहाँका तीन वटा स्थानीय तहले भौतिक उपस्थितिमा यसअघि नै विद्यालय सञ्चालन गर्दै आएको छ ।

दुई वटा स्थानीय तहले सोमबारदेखि, लेटाङ नगरपालिकाले असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरेका छन् । विराटनगर महानगरलगायत ५ वटा स्थानीय तहले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने बारेमा निर्णय गर्न सकेको छैन ।

स्थानीय तहहरुले कोभिड १९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ अनुसार संक्रमणको मध्यम जोखिम क्षेत्रमा आलोपालो र न्यून जोखिम क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न लागेको हो ।

कोरोना संक्रमणको मध्यम जोखिम भएको क्षेत्रमा कक्षाको कूल क्षमताको ३३ प्रतिशत नबढ्ने गरी आलोपालो समेतको उपयुक्त वैकल्पिक विधि अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न स्थानीय तहको सिफारिसमा डिसिएमसीबाट स्वीकृति लिनुपर्ने कार्यविधिमा व्यवस्था छ । संक्रमणको न्यून जोखिम भएको क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा शैक्षणिक क्रियाकलाप सञ्चालन गर्ने कार्यविधिमा भनिएको छ ।

कार्यविधिले दिएको अधिकार उपयोग गरी बेलबारी नगरपालिका, केराबारी, मिक्लाजुङ, धनपालथान र बुढीगंगा गाउँपालिकाले आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न लागेको शिक्षा शाखा प्रमुखहरुले बताउनु भएको छ ।

केराबारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अर्जुन घिमिरेले गाउँपालिकाको वडा १, २, ४ र ९ मा कम विद्यार्थी संख्या रहेको र सक्रिय संक्रमित पनि नभएकोले न्यून जोखिम ढाँचामा विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालनको व्यवस्था गरेको बताउनुभयो । उहाँले बाँकी वडाहरुमा विद्यार्थी संख्या धेरै भएकोले मध्यम जोखिम ढा“चामा आलोपालो प्रणालीमा भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको व्यवस्था गरेको बताउनुभयो ।

यस्तै, सुन्दरहरैंचा नगरपालिका र जहदा गाउँपालिकाले सामेबारदेखि भँैतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुखहरुले बताउनुभयो । कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठले भदौ २७ गतेबाट मध्यम र न्यून जोखिम ढा“चामा विद्यालय सञ्चालनको निर्णय गरिएको बताउनुभयो । लेटाङ नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण घिमिरेले साउन १ गतेदेखि मध्यम र न्यून जोखिम ढाँचामा विद्यालय सञ्चालनको तयारी गरेको बताउनुभयो ।

पथरीशनिश्चरे नगरपालिकाले साउन अन्तिम साताबाट, ग्रामथान गाउँपालिकाले मंगलबारदेखि र कटहरी गाउँपालिकाले बुधबारदेखि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरिरहेका छन् । विराटनगर महानगर, उर्लाबारी, रंगेली, सुनबर्षी र रतुवामाई नगरपालिकाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने बारे निर्णय गरेको छैन ।

विराटनगर महानगरपालिकाले एक साता अघि विद्यालय सञ्चालन व्यवस्थापन कार्य ढाँचा निर्धारण गर्न शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । भट्टराईले विद्यालय सञ्चालन ढाँचाको प्रतिवेदन तयार भइसकेकोले आइतबार महानगर प्रमुखलाई बुझाउने तयारी गरेको बताउनुभयो । प्रतिवेदन बुझाइसकेपछि शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन बारे निर्णय लिने उहाँको भनाई छ ।

तर विराटनगरस्थित केही निजी र केही सामुदायिक विद्यालयले आइतबारदेखि नै विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । विद्यालयहरुले कक्षा सञ्चालनका लागि कक्षा कोठालगायत विद्यालय क्षेत्र सरसफाई गरेका छन् । शिक्षा अधिकृत भट्टराईले महानगरको अनुमति बिना विद्यालय सञ्चालन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

यस्तै, उर्लाबारी, रंगेली, सुनबर्षी र रतुवामाई नगरपालिकाका शिक्षा शाखा प्रमुखहरुले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन बारे अवधारणा बनाइरहेको र चाँडै शिक्षा समितिको बैठकले निर्णय गरी कक्षा सञ्चालनको व्यवस्था गर्ने बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker