राप्ती नगर उप प्रमुख इमानसिंह लामा सम्मानित

चैत्र २५, राप्ती । राप्ती नगरपालिकाका उप प्रमुख इमान सिंह लामा सम्मानित भएका छन् । नेकपा एमाले राप्ती नगरपालिका वडा नम्बर १, २, ४, ६, नेपाल चेपाङ संघ जिल्ला समिति चितवन र आदिवासी जनजाति नगर समन्वय समिति राप्ती नगरपालिकाको संयुक्त आयोजनामा आयोजित घर हस्तान्तरण कार्यक्रममा उप प्रमुख लामा सम्मानित भएका हुन् ।

आफ्नो कार्यकालमा लामाले ६ वटा घर निर्माण गरिदिएका छन् । गरिब तथा विपन्न परिवारको घर उनले आफ्नो व्यक्तिगत आर्थिक सहयोगमा निर्माण गरिदिएका हुन् । यिनै कार्यको कदर गर्दैै आयोजक संस्थाहरुले उनलाई सम्मान गरेको हो ।

नेपाल सरकारले उप प्रमुखको हैसियतलाई प्रदान गरेको सेवा सुविधा तथा भत्ताको रकमबाट प्रत्येक बर्ष नगर भित्र रहेका अति विपन्न परिवार, असहाय तथा एकल महिलाको लागि उनले घरहरु निर्माण गरेका थिए ।

२०७४ सालमा वडा नं. ४ कि एकल महिला मंगली माया चेपाङको घर , २०७५ सालमा वडा नम्बर ६ का अति विपन्न तथा अशक्त कुलमान चेपाङको घर, २०७६ सालमा वडा नम्बर ६ कि हिंसामा परेकी बालिका अनुजा परियारको घर, २०७७ सालमा वडा नम्बर १ मा जङ्गली हात्तीले ध्वस्त बनाएको झाँक्री बा भनेर चिनिने अमर बहादुर चेपाङको घर निर्माण गरिदिएका थिए ।

घरबार विहीन भएका जीवन चेपाङको लागि सम्पूर्ण खर्च आफैले व्यहोर्ने गरि आफैले घर निर्माण गरिदिएका थिए । त्यस्तै राप्ती नदीमा घुंगी र गंगटा खोज्ने क्रममा नेपाली सेनाको कुटपिटबाट मृत्यु भएका राप्ती २ का अति विपन्न मृतक राज कुमार चेपाङको परिवारको लागि घर निर्माण पनि गरिदिएका थिए । आज सो कार्यक्रमको अवसर पारेर घरको चाबी मृतक चेपाङको बुबालाई हस्तान्तरण गरिएको छ ।

पूर्व गण्डकी प्रदेश प्रमुख तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सिता पौडेलको हातबाट लामा सम्मानित भएका हुन् । सम्मानित भएपश्चात आफूले अझै काम गर्न बाँकी रहेको उनले बताए । दुखीहरुको सेवा गर्दा आफूलाई आनन्द मिल्ने पनि उनले बताएका छन् । “आगामि दिनहरुमा म जनप्रतिनिधि भए या नभएता पनि सधैँ जनताको सेवामा लागिरहने छु ।” कार्यक्रममा बोल्दै उनले भनेँ । आफूले बोकेको वैचारिक सिद्धान्तले पनि जनताको सेवा गर्नेमा नै जोड दिएको उनले बताए ।

उप प्रमुख लामा लोकप्रिय नेताको रुपमा चिनिन्छन् । घर निर्माण सँगसँगै लकडाउनको बेलामा दीर्घरोगी बिरामीहरुलाई अस्पताल पुर्याउने र घर ल्याउने, खाद्यान्न सामाग्री लिएर विपन्न परिवारको घरघर पुग्ने र नागरिकता विहिनहरुलाई आफ्नै सनाखतमा नागरिकता दिलाउने जस्ता कार्यले उनलाई जनता माझ प्रिय बनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker