रत्ननगर ९ मा घपनबहादुरको सम्भावना बलियो

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं ९ को निर्वाचन रोचक मोडमा छ । एकीकृत समाजबादी र माओवादी केन्द्र बीच चुनावी तालमेल भएको सो वडामा एमाले एक्लै चुनावी मैदानमा छ ।

सो वडामा नेपाली कांग्रेसको वडाध्यक्षमा आधिकारिक उमेदवार छैन । कांग्रेसका वडा सभापति अनन्त अधिकारी स्वतन्त्रबाट चुनावी मैदानमा छन् । कांग्रेस बलियो मनिएको सो वडामा समाजबादीको तर्फबाट विष्णुहरि देवकोटाले बागी हालेका छन् । दुई दलिय गठबन्धनबाट समाजबादी पार्टीबाट सरस्वती लामा वडाध्यक्षकी उमेदवार हुन ।

वडामा लोकप्रिय मानिएका स्वतन्त्र उमेदवार अधिकारीलाई पनि कम आकलन गरिएको छैन । पाँच दलीय गठबन्धनमा आएको विचलनका कारण सो वडामा नेकपा एमालेबाट वडाध्यक्षका उमेदवार घपनबहादुर तामाङको सम्भवना बलियो देखिएको छ । वडामै परिपक्क मान्छेको रुपमा पहिचान बनाएका तामाङले अन्यपार्टीबाट समेत मत खान सक्ने आकलन गरिएको छ ।

तामाङले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । चुनावी घरदैलो अभियानका क्रममा वडावासी मतदाताको उत्साहजनक सहभागिताले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका हुन् ।‘मेरो पल्ला भारी देखेर विपक्षी दल र तिनका उमेदवार आत्तिइसकेका छन्,’ उनले भने । नेकपा एमालेको राजनीतिमा क्रियाशील रहँदै आएका नेता तामाङले आफ्नो पार्टीको योजना र आफ्नै निजी योजनाले पनि जनताको मन जितिसकेको बताए ।

‘यसपटकको निर्वाचनमा मैले राम्रो साथ, सहयोग र समर्थन पाएको छु,’ उनले भने, ‘चुनावी अभियानमा देखिएको उत्साहजनक सहभागिता र वडावासीको साथले मैले जितिसकेको अनुभव गरेको छु । त्यसैले अब चुनावी परिणाममा विजयी घोषणा हुनमात्रै बाँकी छ।’ विगत लामो समय देखि आफनो वार्डमा सामाजिक कार्यमा संलग्न भई वडाबासीसंगै एक आपसमा दुःखसुख बाडेर यहि आफनो ठाउको विकासका लागि अहेरात्र खटेको कारण पनि आफुलाई वडाबासीले चाहेको तामाङको भनाई छ ।

यसपटक आफूमात्र नभई आफ्नो समूहमा पनि जनमतको कदर गर्ने र जनताले चाहेका उमेदवार पाएको हुँदा त्यसले पनि थप बल पुगेको उनको भनाइ छ । वडा नं. ९ मा नेकपा एमालेको तर्फबाट अध्यक्षका उमेदवार तामाङसँग महिला सदस्यमा सविता चौधरी, दलित महिला सदस्यमा सुष्मा खड्काथोकी, खुला सदस्यमा कमानसिंह चौधरी र वसन्त अम्गाईले उमेदवारी दिएका छन् । नगरपालिकाको मेयरमा भने यसअघिकी उपमेयर विमला दुवाडी र उपमयेरमा यादवप्रसाद पाठकले उमेदवारी दिएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker