एमालेबाट मेयरकी उमेदवार प्रतिस्पर्धी होइन, सल्लाहकार हो :  : प्रलाद सापकोटा

रत्ननगरमा निर्वाचनको माहोल तातेको छ । पाँच दलीय गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका युवा नेता प्रलाद सापकोटा र नेकपा (एकीकृत समाजवादी)का नेता बद्रिनाथ घिमिरेसहित १६ वटै वडामा उमेदवारहरु घरदैलो र कोणसभामा व्यस्त भएका छन् । रत्ननगरका उदीयमान कांग्रेस युवा नेता प्रह्लाद सापकोटा रत्ननगरलाई समुन्नत र समृद्ध नगर निर्माण गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा होमिएका छन् । सामाजिक व्यक्तित्व र युवा समाजसेवीका रुपमा प्रसिद्धि कमाएका सापकोटाले आफूले बोलेर होइन, काम गरेर रत्ननगरलाई रत्नजसरी चम्काउने प्रतिबद्धता व्यक्त गरेका छन् । अत्यन्त व्यस्त समयकाबीच मेयरका उमेदवार सापकोटासँग गरिएको संवाद
१) चुनावी सरगर्मी असाध्यै बढेको छ, तपाईंको चुनावी माहोल कस्तो छ ?
– रत्ननगरमा चुनावी सरगर्मी असाध्यै तातेको छ । हामी संयुक्त गठबन्धनको भावनाअनुसार एकजुट भएर नगरवासीको घरदैलोमा जुटिरहेका छौँ । मतदाताले हामीप्रति दर्शाउनुभएका सद्भावले गर्दा रत्ननगरमा यसपटक हामीले इतिहास रच्ने संघारमा छौँ । ‘नेपाली कांग्रेसको सपना ः स्वच्छ, सफल, सबल र समुन्नत रत्ननगरको परिकल्पना’ भन्ने नारासहित हामी चुनावी मौदानमा छौँ ।
२) रत्ननगर कांग्रेसमय बन्दै गएको अनुभूति गर्नुभएको हो ?
– हो । मेयरका उमेदवारका रुपमा प्रह्लादमय र समग्र नगर कांग्रेसमय बन्दै गएको कुराको अनुभूति हामीले गरेका छौँ । नगरवासीले हामीप्रति यति ठूलो विश्वास, सद्भाव र मतदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हामी उहाँहरुकै सल्लाह, सुझाव र अपेक्षाअनुसार रत्ननगरको आमूल परिवर्तन गराउन कटिबद्ध रहने विश्वास दिलाउन चाहन्छु ।
३) रत्ननगर नगरपालिकाको मेयरमा तपाईंको उमेदवारी किन ?
–रत्ननगरलाई भ्रष्टाचारमुक्त र जनउत्तरदायी बनाउँदै जनताको आवश्यकता, भावना र चाहना समेट्दै कांग्रेसको घोषणापत्रमा अभिव्यक्त भएका संकल्प र प्रतिबद्धतालाई पूरा गर्न मेरो उमेदवारी हो । अब देशमा परिवर्तन ल्याउने युवाले नै हो । युवाको सोच, दृष्टि र कार्ययोजनाले नै नगरको समृद्धि र विकास हुनसक्छ । त्यो शक्ति र ऊर्जा बोकेर मेयरमा उमेदवारी दिएको हुँ । मेयरमा जितेपछि रत्ननगरलाई रत्नजसरी चम्काउँछु ।
४) तपाईंले के कस्तो प्रतिबद्धता बोकेर मतदाताकोमा जानुभएको छ ? –
रत्ननगरको समग्र विकासका लागि कांग्रेस नगरसमितिले एउटा प्रतिबद्धतापत्र तयार पारेको छ । त्यसैलाई निर्वाचन घोषणापत्रका रुपमा जारी गर्दै हाम्रा कार्ययोजना तथा प्रतिबद्धतालाई मैले मतदातासमक्ष पेश गरेको छु । रत्ननगरलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त नगरपालिका निर्माण गर्ने मेरो संकल्प रहेको छ ।
५) तपाईं मेयर बनेपछि रत्ननगरमा कस्तो बदलाब आउँछ ?
म भाषणबाजी गरेर हिँड्ने र प्रचारबाजीमा रमाउने मान्छे होइन । म जे बोल्छु त्यो गर्छु पनि । मददाताले विश्वास गरेर दिएको पाँच वर्षको समय कत्ति पनि खेर नजाने गरी नगरवासीप्रति उत्तरदायी भएर काम गर्नेछु । म विकासप्रेमी र परिवर्तनको पक्षधर हुँ । म रत्ननगरको मुहार परिवर्तन गरेरै देखाउँछु ।
६) एमाले नेत्री बिमला दुवाडीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । चुनावी प्रतिस्पर्धा कस्तो छ ?
–मैले एमालेबाट उमेदवार बन्नुभएकी बिमला दुवाडीलाई प्रतिस्पर्धी ठानेकै छैन । उहाँलाई मैले चुनाव जितेपछि सल्लाहकारका रुपमा लिएको छु । एमालेले रत्ननगरमा २५ वर्षको अवधिमा गरेको छ ? त्यो मैले भनिरहनु पर्दैन । सबै नगरवासी जानाकार नै छन् । रत्ननगरमा बेथिति, भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावाद कति मौलायो ? त्यसबाट पनि नगरवासी बेखबर छैनन् । एमालेले विकासमा पछाडि पारेको रत्ननगरलाई म र मेरो टिमले गर्व गर्नलायक बनाउँछौँ ।
७) जितको सुनिश्चितता के देख्नुभएको छ ?
रत्ननगरमा नेपाली कांग्रेसको जनाधार अत्यन्तै बलियो रहेको अवस्था छ । कांग्रेसका सक्रिय, समर्थकको स्थिति पनि गर्व गर्नलायक भएकोले मैले जित्ने सुनिश्चितता देखेको छु । म सत्ता गठबन्धनको तर्फबाट साझा उमेदवार पनि भएकाले पनि रत्ननगरका तटस्थ मतदाताहरु र विपक्षी एमालेका मित्रहरुले पनि युवा र जुझारु उमेदवारका रुपमा मप्रति आकर्षित भई मतदान गर्ने प्रतिबद्धता जनाउनु भएकाले धेरै मतान्तरका साथ मलगायत हाम्रो गठबन्धन टिम विजयी हुनेमा विश्वस्त छु ।
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker