राष्ट्रिय गौरवका आयोजना निर्माणपछि ठुलो संख्यामा रोजगारी सिर्जना हुन्छ : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर निर्माणधिन राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न भएपछि भरतपुरमा ठुलो संख्यामा रोजगारी सिर्जना हुने बताउनु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा न्यु आर आर क्लब भरतपुर–२१, शिवशक्ति युवा क्लब भरतपुर–१४ र सुर्योदय क्लब भरतपुर–१५ ले आईतबार संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सो कुरा उल्लेख गर्नु भएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १४,१५ र २१ मा राष्ट्रिय गौरवका आयोजना निर्माणधिन र निर्माण गरिने क्रममा रहेकाले यसले ठुलो संख्यामा रोजगारी सिर्जना गर्ने मेयर दाहालको भनाई छ ।
भरतपुरमा हुने विकासले नै रोजगारी सिर्जना हुने भएकाले महानगरपालिकाले यस्ता परियोजनालाई उच्च प्रथामिकतामा राखेको उल्लेख गर्नुभयो ।
भरतपुर १४ र १५ को सिमानामा ३०० शैयाको केन्द्रीय शिक्षक अस्पताल, वडा नम्बर २१ मा केन्द्रीय उद्योगग्राम निर्माण भएपछि यहाँका स्थानीयले रोजगारी पाउने छन्–मेयर दाहालले भन्नुभयो ।
भरतपुर महानगरपालिकाले युवासँग मेयर कार्यक्रममार्फत बैँकबाट रु ५ लाख ऋण लिने उद्यमीलाई ब्याजमा शतप्रतिशत अनुदान प्रदान गर्दै आईरहेको बताउदै मेयर दाहालले यो रकमभन्दा बढी ऋण लिनेलाई सहुलियत प्रदान गर्ने गरी कार्यविधि ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो ।
मेयर दाहालले महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने स्पष्ट नीतिअनुसार रोजगारी बैँक निर्माणको तयारीमा रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्नु हुँदै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले युवाहरुले सीप, दक्षतामा ध्यान दिनुपर्ने बताउनुभयो । विकास निर्माणको कार्यमा सीप तथा दक्ष व्यक्तिको आवश्यक पर्ने भएकाले सबैले कुनै न कुनै सीप सिकेर बस्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा भरतपुर–२१ का वडा अध्यक्ष कृष्णकुमार गुरुङ, भरपतुर–१५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा, भरतपुर महानगर कार्यपालिका सदस्य कोपिला उपरकोटी, भरतपुर महानगरका वरिष्ठ इन्जिनियर बिराट घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker