पिठुवा डेरीका ४३५ किसानले पाए १५ लाख अनुदान

रत्ननगर, असार २९– रत्ननगरको पिठुवामा रहेको पिठुवा दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना ४३५ कृषकलाई अनुदान रकम वितरण गरेको छ। २०७७ साल श्रावण देखि २०७८ साल असार मसान्तसम्म दूध बिक्री गरेका कृषकहरुलाई अनुदान रकम वितरण गरिएको हो । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाट प्राप्त अनुदान रकम पन्ध्र लाख एकानब्बे हजार चार सय उनन्सत्तरी रुपियाँ सहकारीका कृषकहरूले प्राप्त गरेका हुन् ।

 

किसानहरुले उत्पादन गरेको दुधको परिमाणका आधारमा अनुदान रकम प्राप्त गरेको सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद अर्यालले उज्यालो नेपाललाई जानकारी दिए। आर्थिक वर्षभरिमा कृषकहरुले बिक्री गरेको दूधको प्रतिलिटर बढीमा दुई रुपैयाँ अनुदान दिने वाग्मती प्रदेश सरकारको कार्यक्रम अन्तर्गत उक्त अनुदान रकम बाँडिएको हो । सहकारीमा उक्त अवधिमा कृषकहरुले जम्मा नौ लाख एकहत्तर हजार पाँच सय तिरानब्बे लिटर दूध बिक्री गरेका छन्।

 

जसमध्ये सबैभन्दा धेरै शिवकुमारी शर्माले ७५,१०२ लिटर दूध बिक्री गरी १,२३,०१८/- रुपैयाँ अनुदान प्राप्त गरेकी छन्। त्यस्तै दोस्रोमा सहकारी संस्था कै व्यवस्थापक गुणराज रेग्मीले ३१,२९३ लिटर दूध बिक्री गरी ५१,२५९/- रुपैयाँ अनुदान प्राप्त गरेका छन्। त्यसैगरी तेस्रो स्थानमा गोकुल बहादुर महतले १७,८६९ लिटर दूध बिक्रि गरि २९,२६९/- रुपैयाँ अनुदान प्राप्त गरेका छन्।

 

बुधबार सहकारीकै कार्यालयमा सम्पन्न एक कार्यक्रमबीच उक्त अनुदान रकम वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं. १६ का वडाध्यक्ष हेमराज थापाले प्रदेश सरकारले दिइरहेको अनुदानमा अब यसै आर्थिक वर्षदेखि रत्ननगर नगरपालिकाले पनि कृषकहरुलाई दूधको उत्पादनमा आधारित रहेर प्रतिलिटर रु १ अनुदान दिन लागेको जानकारी दिए।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगालेले रत्ननगर नगरपालिकामा कार्यरत कृषि र पशु शाखाका कर्मचारीहरु फिल्डमा खटिन भन्दा पनि दिनभरि अफिसमा बसेर समय गुजार्ने गरेको आरोप लगाए। कार्यालय एक जना मात्र कर्मचारी बसेर अन्य कर्मचारीहरु किसानको गोठमा खटिने हो भने यस्ता अनुदानका कार्यक्रम आवश्यक नपर्ने उनले बताए।

कार्यक्रममा दुग्ध विविधीकरण उप अायोजनाका संयोजक गंगाराम गुरुङ, लेखा समिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो। संस्थाकै अध्यक्ष बद्रि प्रसाद अर्यालको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष वैकुण्ठ अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम संस्थाका सचिव रामचन्द्र दुवाडीले सञ्चालन गरेका थिए।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker