रत्ननगरमा राष्ट्रपति खेलकुद महिला सहभागीता अभिवृद्धि कार्यक्रम सुरु

चितवन, असार ३० । खेलका माध्यमबाट महिला सशक्तिकरण बढाउन जोड दिँदै रत्ननगरमा राष्ट्रपति खेलकुद महिला सहभागीता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) त्रिपुरेश्वर काठमाडौंको आयोजनामा रत्ननगर वडा नं. १४ जनजागृति माध्यमिक विद्यालय पिठूवामा तीन दिनसम्म चल्ने अभिवृद्धि कार्यक्रममा फुटबल, भलिबल, तेक्वान्दो, कराते, एथ्लेटिक्स र रग्बी खेलको प्रशिक्षण दिइनेछ ।

कार्यक्रम चितवन सहित २१ जिल्लामा सञ्चालन भईरहेको छ ।

खेलको माध्यमबाट महिला सशक्तिकरणमा जोड दिने राष्ट्रपति कार्यक्रमको अभियान हो । ‘महिला सशक्तिकरण हाम्रो संकल्प, खेलकुदमा महिला सहभागीता उत्तम विकल्प’ भन्ने अभियानको नारा छ । हेर्दा सामान्य लागे पनि यसको सन्देश भने निकै अर्थपूर्ण छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी महिलाले पाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर १४ का वडा अध्यक्ष होमनाथ रानाभाटले खेलले व्यक्तिको शारिरीक, मानसिक विकाश हुने भएकाले खेल निकै महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘यहाँ उत्पादन भएका खेलाडीहरुले देश तथा विदेशमा गएर आफ्ना क्षमता प्रस्तुत गर्न सकुन् ।’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य चन्द्र बन्दना राईले कार्यक्रमको मुख्य उद्देश्य खेल क्षेत्रमा महिलाको क्षामता बढाएर उनीहरूलाई निर्णायक बनाउन खोजिएको बताईन् । खेलकुदमा महिला सहभागिता बढाउन आवश्यक उनको भनाई छ ।

जनजागृति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक विनोद अधिकारीले खेलले व्यक्ति र देशलाई चिनाउने भएकाले खेल जीवनको महत्वपूर्ण पाटो रहेको बताए । खेलले मानिसलाई स्वस्थ, तन्दुरुष्त बनाउनुका साथ साथै शारिरीक र मानसिक विकाशमा मद्धत पुग्ने बताए ।

चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी ढकालले सञ्चालन गरेका थिए ।

भलिबल बुद्धि बोगटी, एथ्लेटिक्स देवेन्द्र बर्तौला, कराते राजु पौडेल, तेक्वान्डो पुष्पराज जोशी, फूटबल रामहरी ढकाल र प्रेम कोईरालाले रक्वी खेलको प्रशिक्षण दिनेछन् ।

तीन दिन सम्म सञ्चालन हुने अभिवृद्धि कार्यक्रममा सात वटा विद्यालयका महिला विद्यार्थीहरुको सहभागीता रहने छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker