सपना भिलेजद्धारा सिद्धिका दुई समुहलाई सहुलीयतमा ऋण प्रदान

कालिका ०२ साउन । सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले सिद्धिका दुई समुहलाई सहुलीयतमा ऋण रकम प्रदान गरेको छ । सपना आमा कृषक समुह र सिद्धि सपना उद्यमी मौरी कृषक समुहलाई १०÷१० लाख रुपैया प्रदान गरिएको हो ।

कालिका नगरपालिका वडा नं १० र ११ अन्तर्गत पर्ने दुई समुहलाई सहुलीयत दरमा लगानी गर्ने गरी ऋण रकम प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । स्थानीय युवा तथा युवतीहरुलाई उद्यमी बनाउन ऋण रकम प्रदान गरेको उनको भनाई छ । सिद्धिमा आयोजित कार्यक्रममा मेयर विनोद रेग्मी, उपमेयर विमला लामा, इम्प्याक्टका अध्यक्ष ध्रुव गिरी, ज्येष्ट नागरिक मनु गिरीले समुहका अध्यक्ष तथा पदाधिकारीहरुलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

६ प्रतिशत व्याजदरमा साँवा र व्याज फिर्ता गर्ने गरी ऋण रकम उपलब्ध गराइएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले बताए । कार्यक्रममा समुहका अध्यक्षहरु र इम्प्याक्टका अध्यक्ष गिरीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो अबसरमा अध्यक्ष गिरीले सीमान्तकृत समुदायका महिला तथा पुरुषहरुलाई आयआर्जन मार्फत आत्मनिर्भर बनाउन ऋण रकम प्रदान गरेको बताए ।

सो संस्थाले प्रदान गरेको रकम समुहले आफ्ना सदस्यहरुलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्ने गरी सम्झौता गरिएको छ । यस्तो कार्यक्रम हामीले पहिला पटक सुरु गरेका हौं उनले भने यसलाई अबसरको रुपमा लिएर प्रतिफल राम्रो आयो भने क्षेत्र विस्तार समेत गर्ने छौं । शुन्य व्याजदरमा पैसा लगानी दिँदा असफल हुने सम्भावना बढि रहेकाले थोरै व्याजदरमा पैसा दिइएको अध्यक्ष गिरीको भनाई छ । कार्यक्रममा मेयर रेग्मीले सपना भिलेजले उद्यमी बन्ने राम्रो अबसर प्रदान गरेकाले यसको सदुपयोग गर्न आग्रह गरे ।

तपाईहरुका लागि यो ठुलो अबसर हो उनले भने राम्रो गर्नुभयो भने नगरपालिकाले पनि समुहमा आर्थिक सहयोग गर्नेछ । उपमेयर विमला लामाले सामुहिक उत्पादनमुलक कार्यक्रम गर्दा फाइदा दिन सकिने भन्दै त्यस तर्फ ध्यान दिन आग्रह गरिन । वडा नं १० का वडाध्यक्ष महेन्द्र प्रजाले सपना भिलेजले दिएको रकमको सही सदुपयोग गरेर आर्थिक आम्दानीको बलियो आधार तयार गर्नुपर्ने बताए । आमा कृषक समुहमा २६ जना महिला सहभागी रहेको र उनीहरुले बाख्रा तथा बंगुरपालनको काम गरिरहेको अध्यक्ष लालुमाया तामाङले बताइन ।

उद्यमी मौरी कृषक समुहका अध्यक्ष दुर्गालाल गुरुङले समुहमा आबद्ध १६ जनाले व्यवसायिक रुपमा मौरीपालन गरिरहेको र सपना भिलेजले प्रदान गरेको रकम ऋणका रुपमा लिएर मौरीपालनलाई अझै व्यवस्थित गरिने बताए । कार्यक्रम इम्प्याक्टका कर्मचारी मीनराज सापकोटाले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker