इष्टु चितवनद्धारा सामुदायिक विद्यालय सरह तलब माग

चितवन । चितवनको निजी विद्यालयका शिक्षकहरुले सामुदायिक विद्यालयको सरह तलब माग गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) चितवनले साउन १ गतेदेखि लागू हुने गरी वृद्धि भएको तलब, चाडपर्व खर्च तथा महङ्गी भत्ता उपलब्ध गराउन माग गरेको हो । युनियनले आफ्नो मागसहित आज (बिहीबार) जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई चितवन प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

ध्यानाकर्षण पत्रमा साउन १ गतेदेखि सामुदायिक विद्यालय सरह लागू हुने गरी संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलाई वृद्धि भएको तलब-भत्ता उपलब्ध गराउने कार्यमा सहयोग गर्न आग्रह गरिएको छ । यस्तै वार्षिक बिदा, सुत्केरी बिदा, नियुक्ति पत्र, सामाजिक सुरक्षा कोषलगायतका अधिकार सुनिश्चित गर्न पनि इष्टु चितवनले ध्यानाकर्षण गराएको छ ।

नीतिगत रुपमा निजी विद्यालयका शिक्षक कर्मचारीहरुको तलब तथा सेवा सुविधा सामुदायिक विद्यालयको सरह हुने व्यवस्था भए पनि प्याब्सन चितवन अन्तर्गतका विद्यालयले श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ उल्लंघन गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ । निजी विद्यालयहरुले सामुदायिक सरह तलब भत्ता तथा सेवा सुविधा उपलब्ध नगराएको भन्दै शिक्षक तलब वृद्धि भन्दा शुल्क वृद्धि प्रतिशत बढी भए आपत्तिपूर्ण हुने इष्टु चितवनले भनेको छ ।

यस्तै कोरोना महामारीको समयमा शिक्षक कर्मचारीलाई तलब उपलब्ध गराउने बाहानामा १० महिनाको शुल्क उठाउने अनुमति लिएर अधिकांश विद्यालयहरुले पुरा तलब र चाडपर्व खर्चलगायतका भत्ता नदिएको पनि पत्रमा उल्लेख छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker