रत्ननगरमा आमा र बच्चाको सुरक्षाको लागि घरमै सुत्केरी जाँच

चितवन ०५ साउन । चितवनको रत्ननगरमा आमा र बच्चाको सुुरक्षाका लागि घरमै सुत्केरी जाँच कार्यक्रम सुरु गरिएको छ । रत्ननगर नगरपालिकाले आमा सुरक्षा कार्यक्रम अन्तर्गत घरमै पुगेर सुत्केरी आमा र बच्चाको स्वास्थ्य परीक्षण सुरु गरेको हो । सो कार्यक्रममा विहीबार रत्ननगरका मेयर प्रल्हाद सापकोटाले सुभारम्भ गरेका छन् ।

सो अबसरमा उनले आमा र बच्चाको जीवन रक्षाको लागि घरमै सुत्केरी जाँच कार्यक्रम सुरु गरिएको बताए । उपचार नपाएर कसैको ज्यान जानु हुँदैन उनले भने सुत्केरीलाई हेरचाह र उपचारको आवश्यकता हुन्छ, त्यसका लागि नगरपालिकाले कार्यक्रम सुरु गरेको हो । सुत्केरी आमा र बच्चाको जाँचका लागि नगरपालिकाले एउटा वडामा एक जना स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

स्वास्थ्यकर्मीले गर्भवती महिला र सुत्केरी महिलाको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए । रत्ननगरमा बार्षिक १ हजार ८०० महिला सुत्केरी हुन्छन् । गर्भवती महिलाले ८ पटक र सुत्केरी महिलाले ४ पटक अनिवार्य जाँच गराउनु पर्छ । घरमा पुग्ने स्वास्थ्यकर्मीले आमा र बच्चाको जाँच गर्ने, स्वास्थ्य सचेतना तथा स्वास्थ्य शिक्षा प्रदान गर्ने सहजकर्ता रुममाया शर्माले जानकारी दिइन ।

सो कार्यक्रमका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री समेत प्रदान गरिएको छ । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माले समेत मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker