सौराहामा प्राङ्गारिक खेती प्रणाली सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

रत्ननगर ०७ साउन । चितवनको सौराहामा प्राङ्गारिक खेती प्रणाली सम्बन्धी कार्यशाला गरिएको छ । खाद्यन्न तथा तरकारी वालीमा विषादी प्रयोगको न्यूनीकरण गर्दै प्राङ्गारिक खेती प्रणाली स्थापित गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।

आइपीएम तथा प्राङ्गारिक उत्पादनको प्रमाणिकरण तथा विक्री केन्द्रको उचित व्यवस्थापन परियोजना अन्तर्गत नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको हो । दुई दिने कार्यशालामा खाद्यान्न तथा तरकारी खेतीमा विषादी प्रयोगको अबस्था र न्यूनीकरणका उपायहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा परियोजनाका प्रबन्धक डा.नेशन राईले कार्यशालाको लक्ष्य,उद्देश्य र विषयबस्तुको बारेमा प्रकास पारेका थिए ।

कार्यक्रममा विषयविज्ञहरुबाट एक दर्जन कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रमको पहिलो दिन परियोजनाका संयोजक प्रा.डा. अभिनव बैद्य र परियोजन सञ्चालन समितिका सदस्य प्रा.डा.शरद वन्तले खाद्य बालीमा विषादी र स्वास्थ्य तथा जनस्वास्थ्यमा परेको असर, खाद्यका लागि कृषिका डा.कृष्ण पौडेलले विषादी रहित खाना र माटोः आजको आवश्यकता, पीक्यूपीएमसीका प्रमुख सहदेबप्रसाद हुमागाईले नेपालमा विषादीको प्रयोगको अबस्था र यसका समस्याहरु,कृषि बैज्ञानिक डा.भानिश्वर पोखरेलले चितवन जिल्लामा प्राङ्गारिक उत्पादनको बजारिकरण,त्यसमा देखिएका समस्या,चुनौती र समाधानका उपायहरु सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यशालाको दोस्रो दिन शनिवार विषय विज्ञ ऋषिराम अधिकारीले नेपालमा प्राङ्गारिक उत्पादित बस्तुको प्रमाणिकरण प्रक्रिया, जिल्ला प्राङ्गारिक संघ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले सहभागितामुलक ग्यारेन्टी प्रणाली,वागतमती प्रदेश कृषि विकास निर्देशनालयका कृषि अधिकृत रामहरि तिमिल्सिनाले प्राङ्गारिक मलको अनुदान, नीति तथा कार्यान्वय सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले चितवनमा विषादीको प्रयोग र प्राङ्गारिक खेती प्रणालीको स्थायित्वको लागि कार्ययोजना बनाएरै काम भइरहेको बताए । परियोजना केन्द्रीय सञ्चालन समितिका अध्यक्ष डा.बद्रिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरु बीच समुहगत छलफल गरिएको छ । कार्यक्रममा चितवनका सात वटै पालिकाका कृषि शाखा प्रमुख,कृषि सहकारीको पदाधिकारी,कृषि ज्ञान केन्द्रका कर्मचारी तथा निजीक्षेत्रको समेत सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker