बाल गायक प्रिन्सको तीज गीत बुट्टे सारी सार्वजनिक

चितवन, २० साउन
चितवनका बाल गायक प्रिन्स सिलवालले हरितालिका तीज पर्वलाई लक्षित गरेर बुट्टे सारी गीत सार्वजनिक गर्नुभएको छ । बाध्यताले विदेशीनु परेको बुबा, भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडालाई सिलवालले गीत मार्फत ल्याउनुभएको हो ।
प्रिन्सको बुट्टे सारी बोलेको तीज गीत उहाँले बिहीबार आफ्नो आधिकारिक युटुब च्यानल ‘प्रिन्स सिलवाल अफिसियल’बाट सार्वजनिक गर्नुभएको प्रिन्सका बुबा रमेश सिलवालले जानकारी दिनुभयो । यो पटक प्रिन्स सिलवाललाई सन्ध्या बुढा (काउलीबुढी)ले साथ दिनुभएको छ । सार्वजनिक गरिएको गीतमा सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको छ भने आदेश गुरुमछानले एरेन्ज गर्नुभएको छ ।
म्युजिक भिडियोमा गायक प्रिन्स सिलवालसँगै सन्ध्या बुढा, नम्रता शर्मा लगायतका कलाकारले अभिनय गर्नुभएको छ । सन्तोष राजभक्तको कोरियोग्राफी रहेको भिडियोमा माधव शर्माले निर्देशन गर्नुभएको छ भने गीतको छायाँकन तथा सम्पादन अनिल कटवालले गर्नुभएको हो । काठमाडौँको सेरोफेरोमा गीतको छायाँकन गरिएको हो । यसअघि गायक सिलवालको दसैँ मनाउने हो, माया लाग्छ नेपालको, सरोज खनालको अभिनय रहेको बाबा, ट्राफिक हाम्रै साथी बोलको जनचेतनामूलक गीत सार्वजनिक भइसकेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker