चितवनका उद्योगी व्यवसायी भन्छन् -‘भारतीय माछाको आयात रोकौँ’

चितवन, असोज ७ । भारतबाट अवैध रुपमा मरेको माछा आयात हुने कार्य रोक्न चितवनका उद्योगी व्यवसायीले माग गरेका छन् । उद्योग वाणिज्य संघ चितवन, उद्योग संघ चितवन, रत्ननगर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ खैरहनी, चितवन चेम्वर अफ कर्मस, चितवन मत्स्य व्यवसायी संघ र नेपाल मत्स्य व्यवसायी संघले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै आयातित माछा रोक्न माग गरेका हुन् ।

नारायणगढमा पत्रकार सम्मेलन गर्दै अवैध रुपमा माछा आयात हुदा स्वदेशी माछाले बजार पाउन नसकेको दुखेसो गरेका छन् । नेपाल मत्स्य व्यवसायी संघका महासचिव जोगेन्द्र चौधरीले किसानलाई प्रोत्साहन गर्न सहुलियत दिन छाडेर अवैध रुपमा माछा भित्रिन दिइएकोमा आक्रोश व्यक्त गरे । उनले नेपाली बजारमा वार्षिक ६५ हजार मेट्रिक टन माछाको माग रहेको बताए । उनले अवैध रुपमा भित्रिने माछाहरु खानाका लागि हानिकारक भएकाले भन्सार तथा नाकाहरुमा कडाई गरिनुपर्ने बताए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले दैनिक सरदर ५० टन माछा भन्सार छलेर आइरहेकाले अनुगमनमा कडाई गर्नुपर्ने बताए । उनले भारतबाट आयातित माछामा फर्मालिन, नाइट्राइट, सल्फर डाइअक्साइड जस्ता अखाद्य केमिकल्सहरु प्रयोग गरेर सड्नबाट जोगाउने गरिएको पाइएको बताए ।

चितवन मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले माछा आयातमा कडाई गरेर स्वस्थ्कर माछा खाने बानी विकास गर्नुपर्नेमा जोड दिए । उनले भन्सारमा चेकजाँच गरी मापदण्ड पुरा गरेर मात्र माछा आयात हुनुपर्नेमा जोड दिए ।

चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य न्यौपानेले स्वदेशी उत्पादनको बजारीकरणका लागि तीन तहका सरकार गम्भीर बन्नुपर्ने बताए ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले क्वारेन्टाइन तथा चेकपोष्टहरुमा कडाईपूर्वक अनुगमन हुनुपर्ने बताए । उनले नेपालमा उत्पादित माछा उपभोक्ताहरुको माग बमोजिम पर्याप्त रहेको भन्दै स्वदेशमै उत्पादित स्वस्थ र ताजा माछा उपभोग गर्न आग्रह गरे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker