बछौली माविमा महायज्ञको आयव्याय सार्वजनिक : करिब ५१ लाख उठ्न बाँकी

चितवन । सौराहामा रहेको बछौली माविले धनधान्यान्चल ज्ञान महायज्ञको आयव्याय चार बर्षपछि सार्वजनिक गरेको छ । प्राविधिक शिक्षा तथा अंग्रेजी माध्यमको पढाई सुरु गर्न २०७५ साल माघमा महायज्ञ आयोजना गरिएको थियो ।

स्थानीय अगुवा लोकराज भूषालको नेतृत्वमा अभिभावकहरुले महायज्ञको आम्दानी खर्च सार्वजनिक गर्न लिखित माग गरेपछि विद्यालय व्यवस्थापन समितिले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आयव्याय सार्वजनिक गरेको हो । महायज्ञमा १ करोड ५५ लाख ९१ हजार आम्दानी र १८ लाख ८२ हजार रुपैया खर्च भएको विद्यालयका प्रधानाध्यापक शिवराम महरठ्ठाले जानकारी दिए । महायज्ञमा बोलकबोल गरेको ५० लाख ८५ हजार रुपैया उठ्न बाँकी रहेको उनले जानकारी दिए ।

महायज्ञबाट संकलन भएको रकम कृषि विकास बैंकमा ५९ लाख २८ हजार, सोही बैंकमा अक्षय कोषको २ लाख ८७ हजार, मृगकुञ्ज सहकारीमा अक्षय कोषको ६ लाख ५० हजार रुपैया रहेको छ । दाताले दिएको चेक नसाटिएको १ लाख १ हजार रहेको छ । संकलित रकमबाट प्रविधिक शिक्षा सञ्चालनको लागि सम्बन्धनप्राप्त तथा ल्याव निर्माणको लागि १६ लाख ८ हजार रुपैया खर्च भएको प्रधानाध्यापक मरहठ्ठाले जानकारी दिए ।

कोरोनाका कारण महायज्ञमा रकम बोलेकाहरुबाट संकलन गर्न समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले जानकारी दिए । उनले महायज्ञको आर्थिक संकलन समितिले महायज्ञ सकिए लगतै खर्च अनुमोदन गरेको जानकारी दिए । पटक पटक लिखित आग्रह गरेका छौं उनले भने सौराहाका व्यवसायीहरुले कोरोनाका कारण रकम दिन सक्नु भएको छैन् । उनले महायज्ञको उद्देश्य अनुसार नै प्राविधिक शिक्षा र अंग्रेजी माध्यममा पढाई सुरु भइसकेको छ ।

२०७६ सालबाट प्रविधिक शिक्षा र कक्षा ८ सम्म अंग्रेजी माध्यममा पढाई सुरु गरिएको छ । पत्रकार सम्मेलनमा स्थानीय अगुवा भूषालले विद्यालयलाई सही मार्गमा हिडाउन महायज्ञको आम्दानी खर्च सार्वजनिक गर्न माग गरिएको बताए । हामीले आर्थिक हिनामिनाको कुरा गरेका होइनौं उनले भने पारदर्शी रुपमा आम्दानी खर्च सार्वजनिक गर्न आग्रह गरेका हौं । भूषालले स्तम्भ र सिलापत्र निर्माण गरिसकेपछि सर्वपक्षिय भेलाको आयोजना गरी आम्दानी खर्च सार्वजनिक हुनुपर्ने माग गरे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker