जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु

भरतपुर । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु भएको छ। आज आरोग्यता दिवस तथा धन्वन्तरि जयन्तीको अवसर पारेर जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले सेवा सुभारम्भ गरे। प्रदेश स्तरको सो केन्द्रको उपचार थप प्रभावकारी बनाउन सेवा थप गरिएको कार्यालय प्रमुख डा कोपिला अधिकारीले जानकारी दिइन्।

उनका अनुसार अकुपञ्चर सेवा पूर्वी चितवनमै पहिलो पटक आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत प्रदान गर्न लागिएको छ। आयुर्वेद थेरापी, दुःखाइ व्यवस्थापन, बाथरोग, नशासम्बन्धी रोग, निद्रा नलाग्ने लगायतका रोगको उपचार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत भइरहेको अधिकारीले जानकारी दिइन्।

केन्द्रमा प्रयोगशाला, भिडियो एक्सरे सेवा पनि उपलब्ध छ। प्रस्तावित ५० शय्याको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा २५ शय्याको भवन निर्माण भइरहेको छ। केन्द्रले गतवर्ष मात्रै ४० हजार नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ। आरोग्यता दिवस तथा आज धन्वन्तरि जयन्तीमा प्रभातफेरी प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आरोग्य दिवस एवं धन्वन्तरि जयन्तीको अवसरमा चितवनमा प्रभातफेरी निकालिएको छ। रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा प्रभातफेरी निकालिएको हो। केन्द्रको कार्यालय परिसरदेखि सुरु भएको प्रभातफेरी ईलाका प्रहरी कार्यालय हुँदै सौराहा चोक, बकुलहर चोक, हरिहर मन्दिर हुँदै पुनः कार्यालयमा आएर समापन भएको थियो।

प्रभातफेरीमा सहभागीलाई विभिन्न जनचेतनामूलक सन्देश लेखिएका प्ले कार्ड समातेका थिए। दिवसकै अवसरमा कार्यालयमा धन्वन्तरि पूजन एवं धन्वन्तरि मूर्ति प्रतिस्थापन गरिएको छ। वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा सो जयन्ती मनाउने गरिन्छ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङकल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन्। विसं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो। रासस

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker