सम्पुर्ण मतदातालाई भेट्न नपाएकोमा क्षमा माग्दै परिवर्तन र बिकासको पक्षमा मतदान गर्न पौडेलको अपिल

रत्ननगर । बाम–लोकतान्त्रिक गठबनधनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेदवार डा. विश्वनाथ पौडेलले चितवन–१ का मतदाताले देखाएको सद्भाव, हौसला र आशीर्वादप्रति आभार प्रकट गरेका छन् । उनले समय सीमाका कारण हरेक मतदाताको घरघरमा आएर मत माग्न नसकेकोमा क्षमाप्रार्थी रहेको जनाएका छन् ।


आसन्न मंसिर ४ गतेको आमनिर्वाचनका लागि चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुग्दै गर्दा थुप्रै आमाबुबालाई भेट गर्न नसकेकोमा उनले क्षमा माग्दै संयुक्त गठबन्धनका साथीहरुमार्फत आफूलाई अमूल्य मत प्रकट गरिदिन आग्रह गरेका हुन् ।
चुनावी अभियानको अन्तिम दिन घरदैलो सम्पन्न गरेका उनलाई थुप्रै सामाजिक संघसंस्था, आमा समूह, महिला समूह, आदिवासी, जनजाति, विपन्न सबै महानुभावले अग्रिम जितको शुभकामना व्यक्त गरेका थिए । लोकतन्त्रको रक्षा, पूर्वाधार विकास, पर्यापर्यटन र निकुञ्जको समस्या, भूमिहीन नागरिकको समस्या र समग्र पूर्वीचितवनलाई नयाँ आयाम दिनका लागि चुनावअघि र पछि सधैँ आफू घरदैलोमै उपस्थित भइरहने उनले वाचा गरेका छन् ।
आफू पनि रत्ननगर–३ शान्तिचोककै स्थायी वासिन्दा भएको र यहाँका यावत् समस्याबारे आफू जानकार रहेको बताउँदै डा. पौडेलले मतदाताले आफूप्रति देखाएको विश्वासलाई कहिल्यै पनि डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गरे ।
आफू अर्थशास्त्री भएका कारण पनि आर्थिक तथा सामाजिक विकास गर्ने हुटहुटी रहेको बताउँदै उनले भने, ‘मेरो ऊर्जाशील समय र लगानी मैले चितवन–१ र समग्र देशका लागि गर्नुछ । कांग्रेसको एजेन्डाअनुरुप आर्थिक समृद्धिको यात्रामा अघि बढ्नुछ, त्यसैले आफ्नो अमूल्य मत रुख चिह्नमा प्रकट गर्नुहुन आग्रह गर्दछु ।’
उनले आफूले घरदैलोमा भेटेर मत माग्न नसकेका मतदातालाई आफ्ना शुभेच्छुक र फोनमार्फत पनि सम्पर्क गर्ने प्रयास गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker