चितवनमा हुने नेपथ्य लाइभ कन्सर्टको सबै तयारी पुरा

परोपकारी काममा जुट्न गायक गुरुङको अनुरोध, मेयर दाहाल भन्नुहुन्छ,–कन्सर्ट हेर्न चितवनवासी आतुर भैसके

चितवन, २४ मंसिर ।
मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमको आयोजनामा चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आइतबार साँझ ४ बजेदेखि हुने ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयारी पुरा भएको छ ।


कन्सर्टको पूर्वसन्ध्यामा आज साँझ नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङले क्याम्पाचौरमा आजै पुगेर रिहर्सल गरी स्टेजमा माइक परीक्षणको काम समेत सम्पन्न गर्नुभयो । कार्यक्रमका अन्य आवश्यक सबै तयारी पुरा भएको र टिकट विक्रीसमेत सकिएकाले कन्सर्टका दिन थप टिकटको व्यवस्थापन गरिएको मानवसेवा आश्रमका जिल्ला संयोजक सौगात श्रेष्ठले जानकारी दिनुभयो ।
नेपथ्यका मुख्य गायक गुरुङको झण्डै दुई घण्टा एकल प्रस्तुतिमा क्याम्पाचौरमा उपस्थित सङ्गीत पारखी मजैले झुम्न पाउनेछन् । सङ्गीतसँगै तरङ्गीत हुने गायक गुरुङको हाउभाउ र शरीरको ताल र जोशले उपस्थित दर्शकलाई मजैले झुमाउने छ ।
त्यसअघि आजै आश्रमको कार्यालय नारायणगढमा नेपथ्यका मुख्य गायक गुरुङसहित नेपथ्य परिवारसँग चियापान तथा भेटघाट कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा चिनवनवासीको भव्य उपस्थिति रहेको थियो ।
समरोहमा गायक गुरुङले बाँचुञ्जेल खुसी भएर बाँच्न र जीन्दगीभर परोपकारी काम गर्न अनुरोध गर्दै जीवनमा सबैभन्दा बढी कार्यक्रम नारायणढमै भएको बताउनुभयो । उहाँले यसपटक चितवनमा व्याण्डले आठौँ संस्करणको प्रस्तुति दिन लागेको जानकारी दिँदै मानवताका लागि हुन लागेको यो कार्यक्रम अझै खास रहेको बताउनुभयो । उहाँले धन भएका भन्दा पनि मन भएकाहरुले सहयोग गर्ने भएकाले यो मानव मन्दिर निर्माणमा हातेमालो गर्न सबैमा अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले क्याम्पाचौरको कन्सर्ट हेर्न चितवनवासीसँगै आफू पनि आतुर रहेको बताउनुभयो । उहाँले बेसहारा तथा सहयोगापेक्षी सडकआश्रित मानवको मानवोचित व्यवस्थापनका लागि महानगरपालिका नचुक्ने बताउँदै आश्रमलाई आवश्यक सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । यसपालीको कन्सर्टको महानगरपालिका सहआयोजक समेत हो ।


आश्रमका अध्यक्ष रामजी अधिकारीले चितवनवासीको साथ सहयोग र हौसलाले यहाँको सडकमा सहयोगापेक्षी सडक मानवरहित बनाउन सफल भएको र यसको निरन्तरताका लागि अझै सहयोग र हौसलाको खाँचो रहेको बताउनुभयो ।
यसपालिको कन्सर्टका संयोजक तथा आश्रमका अभिभावक ओमकार कँडेलले सन् २०८२ सालसम्म मुलुकका सडकलाई नै सहयोगापेक्षी सडकमानव रहित बनाउने आश्रमको संकल्पलाई सार्थक बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।
उहाँले सरकारले गर्नुपर्ने काम मानवसेवा आश्रमले गरिरहेको उल्लेख गर्दै मानवीयताको अभियानमा एकजुन हुन आव्हान पनि गर्नुभयो । उहाँ आश्रमको आजिवन भोजनसेवा दातासमेत हुनुहुन्छ । उहाँले युवालाई जोडेर मानवताको सन्देश दिने र मानवता प्रवद्र्धन गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य भएको बताउनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ चिनवनका अध्यक्ष चुननारायण श्रेष्ठले आश्रमले शुरु गरेको पवित्र कामलाई संघले सधैँ साथ दिने उल्लेख गर्नुभयो । कार्यक्रमका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, चितवनका प्रहरी प्रमुख नवराज अधिकारी, आश्रमका अभिभावक प्रभातकुमार जोशी, लक्ष्मण अर्याललगायतले आश्रमको कामको प्रशंसा गर्दै आआफ्नो क्षेत्रबाट सहयोगका लागि अनुरोध गर्नुभएको थियो ।
मानवता प्रवद्र्धनका साथै यहाँ रहेको मानवसेवा आश्रमको भवन निर्माण सम्पन्न गर्न तथा आश्रित बेसहाराहरुको संरक्षण र पालनपोषणको सहयोगार्थ यही आइतबार हुने ‘नेपथ्य लाईभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन लोक/पप गीतहरु प्रस्तुत गर्नुहुनेछ ।
मानवता प्रवद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत चितवनको योे कार्यक्रम चौथो हो  । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा र २२ गते हेटौंडामा कार्यक्रम सम्पन्न भइसकेको छ । तीन वटै कार्यक्रममा पाँच हजार बढी मासिको सहभागिता रहेको थियो । चितवनमा भने ६ हजार दर्शक उपस्थित गराउने लक्ष्य रहेको छ ।
यसपछि मंसिर २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ ।
अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको कार्यालयका साथै अनलाइन्बाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क रु एक हजार रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker