सर्वाधिक प्रशंसक रहेको चितवनमा फेरि आइपुग्यो नेपथ्य

भरतपुर, मंसिर २४
मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली शुक्रबार दिउँसो चितवन आइपुगेको छ । पाँचवटा ट्रक र दुइवटा बसहरुमा आइपुगेको यो टोलीलाई मंगलबारै आयोजक मानवसेवा आश्रमका पदाधिकारीहरुले स्वागत गरेका थिए ।


यसअघि नेपथ्यले बिराटनगर, वीरगन्ज र हेटौंडामा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ ।

नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत चितवनमा चौथो प्रस्तुती दिन लागेको हो । कार्यक्रम मंसिर २५ गते आइतबार बेलुकी ४ बजे स्थानीय क्याम्पाचौर मैदानमा हुनेछ । चितवनमा धेरैपटक उपस्थित भइसकेको नेपथ्यले यो मैदानमा भने आफूलाई पहिलोपटक प्रस्तुत गर्नलागेको हो ।
चितवन नेपथ्य ब्याण्डको सर्वाधिक प्रिय स्थानमध्ये एक हो ।

‘हाम्रो सबैभन्दा बढी प्रशंसक भएको सहर नारायणघाटै हो,’ ब्याण्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘इमेलको प्रचलन सुरुहुनुअघि हामीलाई सबैभन्दा बढी चिठ्ठी यसै ठाउँबाट प्राप्त हुनेगरेको थियो ।’
यस जिल्लामा ब्याण्डले यसपटक आफूलाई आठौंपटक प्रस्तुत गर्दैछ ।


पछिल्लोपटक नेपथ्यले दुइपटक आफूलाई नारायणी नदीको किनारमा प्रस्तुत गरेको थियो । ती दुवैपटक खुला आकाशमुनी मञ्च बनाइएको थियो । त्यसअघि भने ब्याण्डले ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत चारपटक आफूलाइ यो जिल्लामा उभ्याएको थियो । त्यसैगरि स्थापना लगत्तै सन् १९९५ मा पनि यहाँ एकपटक गणेश टाकिजमा ब्याण्ड प्रस्तुत भएको थियो ।

संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्नलागेको हो । यस क्रममा नेपालको पूर्वीदेखि पश्चिमसम्म गरेर दस स्थानमा कन्सर्ट आयोजना गरिनेछ । बिराटनगरबाट सुरुभएको यो यात्रा एक महिनासम्म चल्नेछ । यात्रा सुरुगर्नुअघि नेपथ्य टोलीले काठमाडौंमा रिहर्सल सम्पन्न गरेको थियो ।

आइतबारको प्रस्तुतीका लागि क्याम्पाचौर मैदानमा मञ्च बनाउने काम लगभग सम्पन्न भइसकेको छ भने शनिबार बेलुकी आवाज तथा प्रकाश इत्यादिको परिक्षण गरिनेछ । मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुती अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ । त्यो स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा यात्रा गर्नुपरेको हो ।

‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम चितवनका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको चितवनस्थित संयोजक निता केसी भन्छिन्, ‘कार्यक्रमलाई भब्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’ केसीका अनुसार चितवन कन्सर्टका टिकटहरु धमाधम बिक्री भइरहेका छन् । समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइन मार्फत् पनि टिकट काट्न सक्ने उनले बताइन् । त्यसको निम्ति मानवसेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजी मार्फत सोझै काट्न सकिन्छ । त्यसैगरि नेपथ्य ब्याण्डको वेबसाइटबाट पनि कन्सर्टहरुको टिकट उपलब्ध गराइएको छ । टेलिफोनमार्फत् सिट सुरक्षित गर्नचाहने दर्शकहरुका निम्ति ९८५५०७६००३, ९८४३३४७६०३ र ९८५५०७६०१९ नम्बर उपलब्ध छन् ।

मानवसेवा आश्रमले शनिबार बेल्चोकस्थित आश्रम भवनमा नेपथ्यका मुख्य गायक अमृत गुरुङलगायतको टोलीलाई स्वागत तथा चियापान आयोजना गरेको छ ।

यो कन्सर्टको लाभांसले मानवता प्रवद्र्धनका साथै आश्रमका बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोष स्थापना गरिने र भवन निर्माणको सहयोगार्थ पनि प्रयोग गरिनेभएको छ । आश्रम भित्र महिलाहरुको आवास (लक्ष्मी भवन) निर्माणाधिन अवस्थामा छ । भवन निर्माण सम्पन्न गर्न एक करोड ६० लाख रुपैयाँको लागत अनुमान गरिएको छ । समाजसेवी स्व. भगवानदास श्रेष्ठको दानबाट प्राप्त ८ कठ्ठा क्षेत्रफलमा अवस्थित आश्रममा यतिबेला ६० जना आश्रितले सेवा पाइरहेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker