सांसद् ढकाललाई रत्ननगरको सम्मान

–केशव भट्टराई
रत्ननगर । चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद् हरि ढकालले देशको लागि नीति बनाउने र भूगोलको थिति बनाउने सन्दर्भमा जनमतको भावनाअनुरुप अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार रत्ननगर नगरपालिकाद्वारा आयोजित सम्मान तथा बधाई कार्यक्रममा प्रमुख अतिथि ढकालले हरेक निकायमा गलत प्रवृतिका कारण जनताका अपेक्षाअनुसार काम हुन नसकेको बताउँदै स्थानीय जनप्रतिनिधिले गलत प्रवृत्तिविरुद्ध एकजुट हुन आवश्यक रहेको बताए ।
उनले जनगुनासा सम्बोधन गर्नेक्रममा आफू कुनै कुराको बाधक नबन्ने र विकासका मुद्दाहरुमा पालिका हुँदै टोलसुधार समितिसम्म साधकका रूपमा काम गर्ने बताए । जनताका गुनासो सम्बोधन गर्न पूर्वी चितवनको खैरहनीमा आफ्नो कार्यालय रहेको र आफू जनसेवक बनेर पाँच वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुरुप बेतिथि अन्त्यका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
चुनावी प्रतिस्पर्धाको आधारमा जस लिने होडवाजी आफ्नो नरहेको र सबै जनप्रतिनिधि र कर्मचारीले आफूलाई सहयोग गरिदिन उनले आग्रह गरे । विभिन्न विकासका योजनाका विषयमा विषय विज्ञसँग छलफल गरेर योजना कार्यान्वयन गर्ने उनको भनाइ थियो । विज्ञसँग छलफल नगरी सुरू गरिएका कतिपय योजना अलपत्र परेको विषयमा आफू जानकार रहेकाले अब त्यस्तो हुन नदिने उनले बताए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले पूर्वी चितवन हरेक क्षेत्रबाट विकासमा पछाडि परेको बताउँदै यस क्षेत्रमा विकासको मूल फुटाउन सांसद् ढकालसँग आग्रह गरे । सीमित स्रोत र साधनका कारण स्थानीय सरकारले चाहेर पनि कतिपय विकास र पूर्वाधार निर्माणका कामहरु गर्न कठिनाइ रहेको उनले बताए ।
रत्ननगर वडा नं ६ स्थित सौराहा ड्याक निर्माण परियोजनाको काम अन्तिम चरणमा पुगेको बताउँदै सडक निर्माणको लागि निकुञ्ज वरपरको रुख काट्न अझै समस्या रहेको उनले बताए । उनले भने, ‘यस्ता मुद्दामा स्थानीय तह एक्लै लड्न सकेको छैन । यसमा संघीय सरकारको सहयोग र समन्वय आवश्यक छ ।’
सांसद् ढकालको थिति बसाल्ने अभियानमा आफू पनि सँगै रहेको स्मरण गराउँदै उनले भने, ‘ म आफू पनि भ्रष्टाचार नगर्ने र आफ्नो सेवासुविधा गरिब तथा विपन्न विद्यार्थीका लागि खर्च गर्ने प्रतिज्ञा गरेर अगाडि बढेको छु ।’ आफूले प्रत्यक्ष अप्रत्यक्षरूपमा एकसयभन्दा बढी विद्यार्थीलाई पढाउँदै आएको र जनसेवकका रूपमा पाँच वर्ष थिति बसाल्ने काममा आफू समर्पित रहेको उनको भनाइ थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले स्थानीय तहको सीमित स्रोत र साधनको परिचालन गरेर रत्ननगर नगरपालिकालाई नगरमैत्री र नगरवासीमैत्री बनाउन प्रयासरत रहेको बताए । जनताको सेवाप्रवाहमा कुनै बाधा व्यवधान नगरीकन आफूले नगरको कामकारबाही अगाडि बढाएको बताउँदै स्थानीय तहको क्षमताले नभ्याउने योजनाका सन्दर्भमा रत्ननगरलाई दुई आँखाका नानीमा राखेर हेरिदिन सांसद् ढकालसँग आग्रह गरे ।
नगर शिक्षा अधिकृत बद्री शर्माले सञ्चालन गरेको कार्यक्रममा सांसद् ढकाल र उनका प्रमुख सल्लाहकार दीपक गौतमलाई कलम र डायरी दिएर सम्मान गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker