लघुवित्त बैंकर्स संघसंगको सम्झौता मान्दैनौं : संघर्ष समिति

रत्ननगर । लघुवित्तीय संस्था विरुद्ध संघर्ष समिति चितवनले नेपाल लघुवित्त बैंकर्स संघसंग गरिएको सम्झौता मान्य नहुने बताएको छ ।

संघर्ष समितिले आइतवार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी बैंकर्स संघसंगको भएको सम्झौता संस्थागत नभएको स्पष्ट पारेको हो । चितवनमा पुस ५ गते नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिबीच १२ बुँदे लिखित सम्झौता भएको थियो ।

बहुबैंकिङ कर्जाले समस्यामा परेका सदस्यलाई उनीहरूको आम्दानीको अवस्था हेरी किस्ता भुक्तानी सहजीकरण गर्ने, कर्जा पुनर्सरचना तथा पुर्नतालिकीकरणका लागि नेपाल राष्ट्र बैंकमा अनुरोध गर्ने लगायतका १२ बुँदे सहमतिपत्रमा उल्लेख छ । संघर्ष समितिका पूर्वमहासचिव प्रेमबहादुर विक र एलिमा मिँयाले आफुखुसी सम्झौता गरेको भन्दै त्यसमा संगठनात्मक संलग्नता नरहेको संघर्ष समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा संघर्ष समिति चितवनकी अध्यक्ष धनकुमारी विकले लघुवित्त बैंकर्स संघसंग गरिएको सम्झौता आधिकारिक नभएको बताइन् । हामी सम्झौता मान्दैनौं उनले भनिन् आन्दोलन जारी रहन्छ । लघुवित्तीय संस्थाहरुले कारोबार गरेका महिलाहरुलाई किस्ता बुझाउन धरपटक गर्ने, आत्महत्या गर्न बाध्य बनाउने, घर छाडेर हिड्नु पर्ने अबस्था सृजना गरेको भन्दै लघुवित्तीय संस्था विरुद्ध संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।

जिल्ला अध्यक्ष विकले संघर्ष समितिले लघुवित्तीय संस्था खारेजी,सामुहिक ऋण मिनाह, गरिवलाई निःशुल्क ऋण, लघुवित्तीय संस्थाबाट पीडितलाई आवश्यकता र क्षमताको आधारमा रोजगारी र समाजबादी अर्थतन्त्रको विकास लगायतका माग राखि सुरु भएको आन्दोलन जारी रहेको बताइन । संघर्ष समितिका केन्द्रीय सचिव रमेश तामाङले राष्ट्रिय रुपमा ३३ लाख ३ हजार महिला लघुवित्तीय संस्थाको ज्यादतीको सिकार बनेको बताए । १२ बुँदै सम्झौता आधिकारिक होइन उनले भने यो मान्न सक्ने अबस्था छैन् ।

संघर्ष समितिकी केन्द्रीय सदस्य सुधा पाठकले एक लाख कर्जा लिदा १५ हजार सुरुमै काट्ने, सेवा शुल्कका नाममा उत्तिकै रकम असुल्ने वित्तीय संस्थाका कारण महिलाहरु समस्यामा परेको बताइन । किस्ता बुझाइसकेको पैसाको पनि व्याज बुझाउनु पर्छ उनले भने ऋण माथी ऋण थपेर नतिरे आत्महत्या सम्मको बाटो रोज्न बाध्य बनाउने वित्तीय संस्था खारेज हुनुपर्छ भनेका हौं ।

संघर्ष समितिले प्रेमबहादुर विक सहित एलिमा मिँया,पूर्ण रपाल,शुशीला श्रेष्ठ,सीता बगलकोटी र बविता भट्टराईलाई समितिको साधरण सदस्य समेत नरहने गरी निस्कासन गरेको जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker