कालिका नगरपालिकाद्वारा पत्रकारको दुर्घटना बीमा

चितवन, १८ पुस : चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुको रु १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासंघबीच दुर्घटना बीमा सम्बन्धी सम्झौतापत्रमा आज एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको छ ।
नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर आज महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यविधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।
कार्यविधिमा बीमाका लागि नगरप्रमुख संयोजक रहने गरी समिति निर्माण गरिएको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरि कार्यविधि बनाइएको नगरप्रमुख रेग्मीले बताए । आज सम्झौता भएसँगै पत्रकारहरुको बीमा प्रकृया अघि बढ्ने र केही दिन भित्रै महासंघका सदस्यहरुको बीमा हुने रेग्मीले बताए । उनले भने, ‘यसबाट पत्रकार र पत्रकारका परिवार लाभान्वित हुने छन् ।’
कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् भन्ने आफ्नो चाहना रहेको भन्दै नगरप्रमुख रेग्मीले भइपरि आउने दुर्घटनाबाट राहतका लागि बीमा कार्यक्रम गर्न लागिएको बताए । कालिका नगरपालिकाले यसअघि गत आर्थिक वर्षमा पत्रकारको रु सात लाखको दुर्घटना बीमा गराएको थियो । अघिल्लो वर्ष रु ३ लाखको दुर्घटना बीमा गरिएको थियो ।


नगरपालिकाले कार्यविधि नै बनाएर आगामी दिनमा पत्रकारहरुको रु १० लाखको दुर्घटना बीमा गर्न लागेको हो । यो बीमा अन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको पत्रकारको परिवारलाई रु १० लाख र घाइते हुने पत्रकारको उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बीमा गरिनेछ ।
नगरपालिकाका उपप्रमुख विमला तामाङले नगरपालिका र महासंघका बीचमा संस्थागत रुपमा यो कार्यक्रमसँगै सहकार्य भएको बताइन् । महासंघका अध्यक्ष अधिकारीले हाल महासंघमा २७६ पत्रकार रहेकोमा अन्यत्र दुर्घटना बीमा भएकालाई घटाएर बाँकी सबैको बीमा गरिने बताए । संस्थागत रुपमा नगरपालिकासँग सम्झौता गर्न पाएकोमा खुसी प्रकट गर्दै अध्यक्ष अधिकारीले यसबाट पत्रकार र परिवार लाभान्वित हुने बताए ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार राधेश्याम खतिवडा, तिलकराम रिमाल, महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्य, नगरपालिकाका वडाध्यक्षहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker