मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम बकुलहर रत्ननगर अस्पतालमा लागु

रत्ननगर, पुष २९ । बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा लागु भएको छ ।

बागमती प्रदेशका स्वास्थ्य सचिव बद्रि बहादुर खड्काले अस्पतालमा आयोजित कार्यक्रममा उक्त सेवाको औपचारिक उद्घाटन गरेका हुन् । प्रदेश सरकारले कुनै पनि नागरिक पैसाको अभावमा स्वास्थ्योपचारबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत शुक्रबारदेखि रत्ननगर अस्पतालबाट सेवा उपलब्ध हुने खड्काले बताए ।

सेवाको उद्घाटन गर्दै सचिव खड्काले स्वास्थ्य नै सबैभन्दा अमूल्य धन भएकोले आफ्नो स्वास्थ्यको लागि सबै सचेत हुनुपर्ने बताए । ‘नेपालजस्तो विकासोन्मुख मुलुकमा सबै जनता निरोगी छैनन्,’ खड्काले भने, ‘नियमित स्वास्थ्य परीक्षण नगर्दा रोगले ठूलो रुप लिइसक्छ र पछि मात्रै उपचार गर्न जाँदा ठूलो मात्रामा धन खर्च भइ ज्यान नै समेत जाने गरेको हामीले भोगेका छौं ।’

नियमित रुपमा स्वास्थ्य परीक्षण गरेमा रोगको सुरुवाती चरणमै उपचार गर्न सकिने र यसबाट धन र ज्यान दुवै जोगाउन सकिने खड्काले बताए । स्वास्थ्य समाजको निर्माण गर्नको लागि र जटिल रोगहरुबाट बच्न नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने खड्काको भनाई छ ।

कार्यक्रम अन्तर्गत चितवन जिल्लाको ६ नगरपालिका र एक गाउँपालिकाको ३० बर्ष उमेर नाघेका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन ज्ञवालीले जानकारी दिए । स्वास्थ्य परीक्षण प्रत्येक शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्यले बताए । उनले विरामीको चाँप हेरेर स्वास्थ्य परीक्षणको समय बढाउन सकिने पनि जानकारी दिए ।

चितवन जिल्लाको लागि रत्ननगर अस्पताललाई छनौट गरेको प्रदेश सरकारले यस कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमार्फत अस्पताललाई ३० लाख रुपैयाँ बजेट छुट्याएको सचिव खड्काले बताए । उनले रकम अपुग भएमा बढाउन सकिने प्रतिवद्धता समेत व्यक्त गरे । नसर्ने रोग तथा जोखिम पहिचान गरी उचित परामर्शसहित उपचारमार्फत जटिल हुन नदिन तथा यस रोगलाई न्यूनीकरणतर्फ लैजान मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु गरिएको सचिव खड्का को भनाई छ ।

उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामकुमार चौधरी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधब पौडेल, नगरका स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अस्पतालका जनस्वास्थ निरीक्षक रामचन्द्र श्रेष्ठले संचालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker