सकियो चितवन महोत्सव, अपेक्षित कारोबार भएको दाबी

४ माघ चितवन । नारायणी नदी किनारमा सञ्चालन भएको १४औँ चितवन महोत्सव–२०७९ को समापन गरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आज महोत्सवको समापन गर्नुभएको हो ।
महोत्सव समापन गर्दै मन्त्री थपलियाले जिल्लामा हुने हरेक मेला महोत्सवले देशको अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताउनुभयो । चितवन महोत्सव जिल्लाकै ब्राण्ड भनेको भन्दै महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु सह्रानीय कुरा भएको थपलियाको भनाइ छ । जिल्ला तथा समग्र प्रदेशकै विकासका लागि आफ्नो मन्त्रालयले योजना बनाएर काम गर्ने मन्त्री थपलियाको भनाइ छ ।
महोत्सव समापन समारोहमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं १४औँ चितवन महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले चितवन महोत्सवले अपेक्षित कारोबार गरेको दाबी गर्नुभयो । कोरोना कहर तथा बैंकको व्याजदरका कारण आर्थिक क्षेत्र सुस्ताएको बेलामा महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन मद्धत गरेको अध्यक्ष श्रेष्ठको भनाइ । महोत्सवको सुरुआती दिनबाटै अवलोकनकर्ताहरुको राम्रो उपस्थिति रहेको भन्दै अध्यक्ष श्रेष्ठले पछिल्ला दिनहरुमा अवलोकनकर्ता अत्यधिक आउँदा यसले यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको श्रेष्ठको भनाइ थियो ।
उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष एवं महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सवमा रहेको सबै व्यापारिक स्टलहरुको व्यापार राम्रो भएको बताउनुभयो । उहाँले महोत्सवमा राखिएका ४५० वटा स्टलकाका बीमा गरिएको भन्दै महोत्सव समग्रमा सफल भएको बताउनुभयो । महोत्सव अवलोकनका लागि ज्येष्ठ नगारिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो भने विद्यार्थीलाई ३० रुपैयाँ तथा सर्वसाधारणलाई ६० रुपैयाँ टिकटको व्यवस्था गरिएको थियो ।
महोत्सवबाट २५ करोड रुपैयाँको व्यापार हुने तथा पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा थियो । महोत्सवको करिब पाँच लाखले अवलोकन गरेका भए पनि व्यापार अपेक्षाअनुसार नै भएको आयोजकको भनाइ छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker