बाघमारा सामुदायिक वनको साधारण सभा : संरक्षणकर्मीलाई सम्मान

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनको १८ औं बार्षिका साधारण सभा शनिबार गरिएको छ । प्रदेश सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा वनका सचिव कृष्ण भट्टले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष आशमान तामाङले आर्थिक प्रतिवेदन तथा चालु आर्थिक बर्षको अनुमानित आयव्याय वितरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पूर्व वन हेरालु छलाहा राउत र बुद्धिमान पाख्रिन,ढुंगा चालक इन्द्रबहादुर बोटे र फोहोरा माझी, उत्कृष्ट कर्मचारी कुल बहादुर तामाङ तथा मालपुर माविबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सुजता तामाङ, सुदिप महतो, आधारभूत विद्यालय बोद्रहनीका उत्कृष्ट विद्यार्थीहरु योगेश तामाङ र कृपा तामाङलाई पुरस्कृत गरिएको छ । त्यसैगरी वन संरक्षणमा योगदान गरेको पूर्व अध्यक्ष विपी चौधरी र पत्रकारिता मार्फत वन,वन्यजन्तु तथा पर्यटनको विकासमा योगदान गर्दै आएका पत्रकार होमनाथ सापकोटालाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्रदेश सांसद खनालले निकुञ्ज ऐन परिमार्जनको लागि प्रदेश सरकारले प्रक्रिया सुरु गरेको बताए । निकुञ्ज ऐनका कारण मध्यवर्तीका जनताले दुख पाएका कारण यसको परिमार्जनको लागि प्रदेश सरकारले मस्यौदा तयार गरी केन्द्र सरकारमा पठाएको बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले करेण्ट लगाएर माउ बच्चा मार्ने अपराधिको खोजिकार्य भइरहेको बताए ।
अपराधि उम्कन पाउदैन उनले भने खोज तलास भइरहेको छ छिट्टै नियन्त्रणमा लिन्छौं । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्व अध्यक्ष बासुदेब चापागाईँले माउ बच्चाको गैंडा मारिनुले वन्यजन्तु संरक्षणमा लामो समय देखिको निकुञ्ज, सेना र जनताको त्रिपक्षिय सहकार्य फेल भएको बताए । बाघमराका अध्यक्ष जितु तामाङले पर्यापर्यटनबाट भएको आम्दानीको अधिकाँस हिंसा वन संरक्षण, जीविकोपार्जन र मानब सुरक्षाको लागि लगानी गरिएको बताए ।
वन व्यवस्थापन, वन र बस्तीको सिमानमा पर्खाल निर्माण,बालीनाली क्षति, सीपमुलक तालिम, सामुदायिक बिमा, विद्युतिय तारबार, सामुदायिक विकास तथा शिक्षा र स्वास्थ्यमा लगायतका काममा खर्च गर्दै आएको अध्यक्ष तामाङले बताए ।
कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष सजना महतो, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.बाबुराम लामिछाने,क्षेत्रीय होटल संघका कार्यबहाक अध्यक्ष योगेश अधिकारी, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी,चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । वनका अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष सीताराम महतोले स्वागत मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker