रत्ननगरमा व्यवसाय पहिचान बोर्डमा २० स्क्वायर फिटसम्म छूट

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले व्यवसाय पहिचान बोर्डमा २० स्क्वायर फिटसम्म छूट दिने निर्णय गरेको छ ।

मेयर प्रल्हाद सापकोटाले व्यवसायीको मागलाई सम्बोधन गर्दै १२ स्क्वायर फिटबाट वृद्धि गरी २० स्क्वायर फिटसम्म छूट दिने निर्णय भएको बताए । संस्थागत तथा व्यक्तिगतरुपमा व्यवसायीबाट गुनासो आएपछि २० स्क्वायर फिटसम्म छूट दिने निर्णय गरेको जानकारी दिए ।

सो नगरपालिकाले चालू आर्थिक वर्षदेखि पहिचानका लागि व्यवसाय गरेको घरमा राख्दै आएको बोर्डको कर उठाउन सुरू गरेको थियो । ठेक्का आह्वान गरी साउन महिनादेखि कर उठाउन थालिएको हो । १२ स्क्वायर फिटसम्मको बोर्डमा कर नलाग्ने र सोभन्दा बढी स्क्वायर फिट भएमा प्रतिस्क्वायर फिट ५० रूपैयाँका दरले कर उठाउन सुरू गरिएको थियो ।

स्थानीय सरकारले गरेको उक्त कामको रत्ननगर उद्योग वाणिज्य संघले संस्थागतरुपमा, ठूला व्यवसायी तथा बैंक, वित्तीय संस्थाहरुले विरोध गरेका थिए । अर्को आर्थिक वर्षमा ३० स्क्वायर फिटसम्म छूट दिने गरी चालू आर्थिक वर्षका लागि २० स्क्वायर फिटसम्म छूट दिने निर्णय भएको मेयर सापकोटाले बताए ।

‘हामी व्यवसायीको पक्षमा छौँ’, उनले भने, ‘व्यवसायीहरुले निर्बाधरुपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्ने मान्यता हामी राख्छौँ ।’ स्थानीय सरकार व्यवसायीको चित्त दुखाएर काम गर्ने पक्षमा नरहेको उनको भनाइ छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker