बकुलहर रत्ननगर अस्पतालको गुणस्तर सुधारको लागि समिक्षा

रत्ननगर । बकुलहर रत्ननगर अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धि समिक्षा गरिएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौँडाको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री श्रेष्ठले प्रदेशका सबै नागरिकहरुसम्म स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । प्रदेशका गरिब र विपन्न वर्गका नागरिकहरु अझै स्वास्थ्य सेवाबाट बञ्चित रहेको बताए । उनले गरिब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायका नागरिहरुको स्वास्थ्यमा पहुँचमा पुर्याउनका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताए ।
उनले प्रदेशका सबै नागरिकलाई स्तरिय स्वस्थ्यको पहुँचका लागि स्वस्थ्य बीमालाई प्रभावकारी बनाउने तयारी गरेको बताए । स्वास्थ्य बीमामार्फत प्रदेशका सबै नागरिकहरुलाई स्वस्थ्यको पहुँचमा पुर्याउने उनले दावी गरे । उनले नागरिकहरुको स्वास्थ्य सेवाको स्थिति र स्तरियतालाईमध्ये नजर गर्दै प्रदेश स्वास्थ्य नीति निर्माण गरि अघि बढ्ने बताए । सो कार्यका लागि मन्त्रालयले अध्ययन तथा अनुसन्धान समिति बनाएर अघि बढेको उनको भनाई छ ।
उनले सरकारले निःशुल्क प्रदान गर्दै आएको औषधी अभाव हुन नदिन सरकार गम्भीर रहेको र सबै कर्मचारीहरुको सहकार्य आवश्यक रहेको बताए । योजना तथा नीति कार्यान्वयनमा सहयोग गर्न र समस्याको समाधानका लागि सरकार तयार रहेकाले भयरहित वातावरणमा काम गर्न उनले कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।
उनले भने, ‘बकुलहर रत्ननगर अस्पताल ७६ प्रतिशत सुधार भएको छ । अझै सुधार गर्नुपर्ने देखिन्छ’ । उनको सरकारले वितरण गर्ने निशुल्क औषधिमा देखिएको बिकृति, बिसंगति न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । गुणस्तरीय र सस्तोमा सेवा दिने किसिमको अस्पताल हुनुपर्नेमा उनले सुझाव दिए ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रि बहादुर खड्काले बकुलहर रत्ननगर अस्पतालमा ठूला भन्दा स–साना सेवा प्रवाहमा सुधार गर्नुपर्ने आवश्यक रहेको बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. मदन ज्ञवाली र डा. नरेन्द्र झा ले अस्पतालको गुणस्तर सुधारका लागि गर्नुपर्ने कार्यहरुका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रम सञ्चालन अस्पतालका जनस्वास्थ्य अधिकृत रामचन्द्र श्रेष्ठले गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker