सौराहामा लैङ्गिक समानता सम्बन्धी बक्तृत्वकला प्रतियोगिता

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा बुधबार लैङ्गिक समानताका लागि विज्ञान र प्रविधिको प्रयोग विषयक मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । ११३औं अन्तराष्ट्रिय नारी दिबसको अबसरमा सपना भिलेज सोसियल इम्प्याक्ट सौराहाले कार्यक्रम आयोजना गरेको हो । २२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा एकता शिशु निकेतन रत्ननगरकी कविता पौडेल प्रथम, डेजी आवासीय मावि खैरहनीका उज्वलबाबु कट्टेल द्धितीय, स्काइराइडर आवासीय मावि रत्ननगरकी स्विकृति आचार्य तृतीय र पञ्चकन्या विद्या मन्दिरका दिब्या शर्मा तथा बैरिया माविकी कृति अधिकारीले सान्त्वना स्थान हासिल गरेको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रल्हाद सापकोटाले लैङ्गिक समानताको लागि रत्ननगर जहिले पनि सकारात्मक रहेको बताए । नारीलाई अबसर दिने देखि उनीहरुलाई सक्षम बनाउन जीविकोपार्जन सम्मका काम गर्न नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने उनको भनाई छ । रत्ननगरका संस्थापक मेयर नारायण वनले राज्यले प्रदान गरेको आरक्षलाई महिलाहरुले भरपुर उपयोग गर्न नसकेको बताए । महिला र पुरुष समान भनिएको छ उनले भने तर महिलाहरुले नै त्यसको उपयोग गर्न सकेका छैनन् । इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले विद्यार्थीहरुमा अन्तरनिहीत क्षमता उजार गर्ने प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको बताए । नारी दिबसको सार्थकता झल्काउदै विद्यार्थीहरुमा त्यसको दायित्वबोध गराउन कार्यक्रम सहयोगी हुने उनको भनाई छ । इम्प्याक्टले आर्थिक अबस्था कमजोर भएका महिलाहरुको जीवन स्तर उकास्ने देखि सीमान्तकृत चेपाङ समुदायको विकासका लागि काम गरिरहेको बताए । महिलाहरुलाई सीप विकास तथा विपन्नलाई आवास निर्माण गर्ने इम्प्याक्टको मुख्य उद्देश्य रहेको उनको भनाई छ ।

सौराहाको पर्यटनमा काम गर्न चाहने महिलाहरुको लागि ड्राइभिङ तथा नेचर गाइड तालिम र चेपाङ तथा मुसहर समुदायका महिलाहरुको जीवन स्तर उकास्न व्यवसायिक खेती सुरु गरिएको अध्यक्ष गिरीले बताए । कार्यक्रममा वडा नं ७ का वडा सदस्य सुर्यबहादुर तामाङ, क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष गंगा गिरी,बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ लगायतले मन्तव्य राखेका थिए । प्रतियोगिताको निर्णायकमा धनराज गिरी,बद्रिनारायण शर्मा,सुर्यप्रसाद लामिछाने, बर्षा पुरी, विरञ्जना सापकोटा घिमिरे रहेका थिए । इम्प्याक्टका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी मिनराज सापकोटाले स्वागत मन्तव्य राखेका थिए । इम्प्याक्टकी कर्मचारी सावित्री पुरीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker