रत्ननगरलाई उत्कृष्ट नगरपालिका पुरस्कार

रत्ननगर । रत्ननगर नगरपालिका देशका ७५३ पालिकामध्ये नगरव्यापी समावेशी सरसफाइ क्षेत्रमा उत्कृष्ट भएकाले नेपाल नगरपालिका संघले पुरस्कृत गरेको छ ।

नेपाल नगरपालिका संघले सहरी सरफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिकसँगको सहकार्य तथा वातावरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा बुधबार होटल म्यारियोट काठमाडौँमा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा र उपप्रमुख यादवप्रसाद पाठकलाई ‘उत्कृष्ट नगरपालिका पुरस्कार’ प्रदान गरिएको हो ।

युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट (युसिएलजी) एसिया प्यासेफिकका प्रमुख अशोककुमार बेन्जु श्रेष्ठ र महासचिव वेनादिया इरावती तेजेन्द्रादेवीले संयुक्तरूपमा पाँच हजार डलर राशीको सो पुरस्कार एवं अवार्ड हस्तान्तरण गरेका हुन् ।

युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट (युसिएलजी) एसिया प्यासेफिक विल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेसन–ारा सञ्चालित अन्तर्राष्ट्रिय संस्था हो । यो संस्थाले विभिन्न च्यारिटी, वातावरण संरक्षण तथा सरसफाइका क्षेत्रमा काम गर्दै आएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले उत्कृष्ट नगरपालिकाको पुरस्कार पाउँदा खुसीको सीमा नरहेको बताउँदै नगरपालिकामा कार्यभार सम्हालेको ११ महिनामै उत्कृष्ट पुरस्कार पाउन सफल भएको र आगामी दिनमा सुशासन र समृद्ध नगरका लागि अझै सफलता हासिल गर्न बाँकी रहेको बताए ।

उनले भने, ‘सचेत नागरिकका कारणले सरसफाइका थुप्रै सूचकाङ्क पूरा गरी नगरपालिका उत्कृष्ट बन्न सफल भएको छ, म सबै नगरवासीप्रति आभार प्रकट गर्न चाहन्छु ।’

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker