रविको निर्वाचन क्षेत्रमा खानेपानीको निर्वाचन : अध्यक्षमा एमालेका गुरुङ निर्वाचित

रत्ननगर । रवि लामिछानेको निर्वाचन क्षेत्रमा पर्ने जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा एमालेका होमबहादुर गुरुङ निर्वाचित भएका छन् ।

संस्थाको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी चार उम्मेदवारलाई पछि पार्दै एमालेको प्रतिनिधिको रुपमा चुनावी मैदानमा होमिएका गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन ।

कुल खसेको मत मध्ये गुरुङले ५६० मत प्राप्त गरेका थिए । उपाध्यक्षमा ४१५ मतका साथ राजेन्द्र श्रेष्ठ, सचिवमा ३६५ मतका साथ सन्तोष भण्डारी, कोषाध्यक्षमा ४८३ मतका साथ रिता भट्ट पाठक, सहसचिवमा ३२८ मतका साथ बसन्धरी न्यौपाने विजयी भएको निर्बाचन समितिका संयोजक लालुप्रसाद दाहालले जानकारी दिए । त्यसैगरी लेखा समिति संयोजकमा पनि एमालेका प्रतिनिधि बालकृष्ण अधिकारी निर्वाचित भएका छन् । उनले कुल खसेको मत मध्ये ४३७ मत प्राप्त गरेका छन् ।

लेखा समिति सदस्यमा ४२९ मतका साथ रामलाल कुमाल र ४१६ मतका साथ बोधराज थपलिया, अनुमन समितिको संयोजकमा ३६६ मतका साथ कृष्णप्रसाद दाहाल र सदस्यहरुमा ३७३ मतका साथ सन्तबहादुर पाख्रिन, ४१२ मतका साथ कल्पना दमै निर्वाचित भएका छन् ।

वडा नं १ को वडा संयोजकमा ४८ मतका साथ धनबहादुर तामाङ र महिला सदस्यमा ४८ मतका साथ शान्तिमाया थिङ, वडा नं ६ को वडा संयोजकमा २४६ मतका साथ गीताराम भेटवाल र महिला सदस्यमा २०९ मतका साथ सरस्वती सुवेदी, वडा सदस्यमा २०६ मतका साथ पुष्पराज भट्टराई र २४५ मतका साथ सुजन थापा,वडा नं ७ को वडा संयोजकमा २०५ मतका साथ द्रोर्णचार्य अधिकारी र महिला सदस्यमा १९२ मतका साथ मीनाकुमारी पौडेल तथा वडा सदस्यमा १८५ मतका साथ गगनसिंह गुरुङ निर्वाचित भएका छन् ।

कालिका नगरपालिकाको वडा नम्बर– १,६ र ७का स्थानीय मुख्य मतदाता रहेकोमा केही वडा–२ र ८ का समेत गरी कुल २ हजार ३ सय ६० जना मतदाता यस संस्थामा रहेका थिए । कुल २० वटा पदका लागि ८३ जनाको उमेदवारी रहेको थियो । कुल १ हजार ६ सय ४४ जनाले मतदान गरेका थिए ।

२०६५ सालमा स्थापना भएको यस खानेपानी संस्थाको नेतृत्व हत्याउनका लागि अध्यक्षमा ५ वटा राजनीतिक दलका प्रतिनिधिले उमेदवारी दिए । जसमा नेकपा एमालेबाट होमबहादुर गुरूङ, नेपाली कांग्रेसबाट यदुप्रसाद खतिवडा, माओवादी केन्द्रबाट सुवास खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमाकान्त बराल र राप्रपाबाट सोमबहादुर खड्का अध्यक्षको प्रतिस्पर्धामा थिए । संस्थाको नयाँ नेतृत्वका लागि जेठ १३ गते निर्वाचन भएको थियो ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker