चितवनका शिबशिखर पीडितले सञ्चलक विरुद्ध उजुरी दिने, विवरण संकलन गरिदै

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था संघर्ष समिति रत्ननगरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारी प्रयास गर्दा पनि सञ्चालकहरु रकम फिर्ताका लागि सकारात्मक नभएपछि उनीहरुविरूद्ध सामूहिक उजुरी दिन लागेको जनाएको छ । जेठ २२ गते जिल्लाका सम्पूर्ण पीडितहरुको विवरण संकलन गरी संस्थागतरुपमा प्रहरीलाई जाहेरी दिने तयारी गरिएको छ । स्थानीय सरकारका प्रमुखसहित जिल्ला प्रशासन कार्यालय तथा गृहमन्त्रीसमेतलाई ध्यानाकर्षण पत्र बुझाएर रकम फिर्ताका लागि पहल गरिदिन संघर्ष समितिले आग्रह गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ताका लागि शेयर सदस्य र बचतकर्ताहरुको विवरण संकलनको काम भइरहेको संघर्ष समिति रत्ननगरका अध्यक्ष सुरेशजंग पाण्डेले जानकारी दिए । रत्ननगरमा एक हजार १५० र भरतपुरमा १ हजार ५०० बढीको विवरण संकलन भएको उनले बताए । विवरण संकलनको काम तीव्ररुपमा भइरहेकोले विवरण बुझाउन बाँकी रहेका शेयर सदस्य तथा बचतकर्ताहरुलाई तत्काल सम्बन्धित शाखामा विवरण बुझाउन उनले आग्रह गरे ।

चितवनमा २०७७ साल कार्तिकमा शाखा कार्यालय सञ्चालन भएको सो सहकारी २०७९ माघ महिनामा बन्द भएको थियो । शेयर सदस्य र बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि कार्यालय बन्द गरी सञ्चालक फरार भएका थिए । रत्ननगरस्थित शाखा कार्यालयमा ४ हजार ८०० शेयर सदस्य तथा बचतकर्ताहरुबाट सो सहकारीले २४ करोड तीन लाख २७ हजार रूपैयाँ संकलन गरेको छ । त्यसैगरी, भरतपुर शाखामा ८ हजार ६४ शेयर सदस्य तथा बचतकर्ताहरुबाट ६४ करोड रूपैयाँ बचत संकलन गरेको छ ।

रत्ननगर शाखामा शेयर रकम र बचत संकलन गरी २४ करोड तीन लाख संकलन गरेको सो सहकारीले १ करोड ४५ लाख रूपैयाँ मात्र लगानी गरेको पाइएको संघर्ष समितिका संयोजक पाण्डेले जानकारी दिए । पूर्वी चितवनका चार नगरपालिकाका शेयर सदस्य र बचतकर्ताहरुबाट संकलन भएको २४ करोड तीन लाखमध्ये १६ करोड ८० लाख रूपैयाँ स्थानीयस्तरमा लगानी नगरी केन्द्रीय कार्यालय लगेको पाइएको उनले बताए ।

स्थानीयस्तरमा १२ देखि १३ करोड लगानी गरेको भए अहिलेको अवस्था नआउने उनको भनाइ छ । ‘शिवशिखरमा आर्थिक सङ्कटको प्रभाव होइन’, संघर्ष समितिका संयोजक पाण्डेले भने, ‘जिल्ला–जिल्लामा बचत संकलन गर्ने र केन्द्रीय कार्यालयमा पैसा तान्ने गलत प्रकृतिका कारण सहकारी डुबेको हो ।’

देशभर ३६ शाखा कार्यालय सञ्चालन गरेको सो सहकारीका ४० वटा कम्पनी सञ्चालनमा रहेका छन् । सो सहकारीको अझै पनि १६ अर्बबराबरको सम्पत्ति रहेको पाइएको संघर्ष समितिले जनाएको छ । समस्याग्रस्त सहकारीबाट १४ अर्ब ५० करोड रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको संघर्ष समिति रत्ननगरका सहसचिव शंकर पौडेलले बताए ।

शिवशिखरपीडितहरुबाट चौतर्फी दबाब परेपछि सरकारले तीन जना सञ्चालकलाई काठमाडौँमा पक्राउसमेत गरेको छ । शिखर अर्गनाइजेसनकी अध्यक्ष गीता शर्मासहित सहकारीका सञ्चालकहरु अनिषराज भण्डारी र पुष्कर मल्ललाई प्रहरीको अनुसन्धान ब्युरोले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

पत्रकार सम्मेलनमा संघर्ष समिति रत्ननगरका सचिव छाया तिवारी, सहसचिव शंकर पौडेल, कोषाध्यक्ष रुपा गिरी, सल्लाहकार नारायणप्रसाद अम्गाईं, सदस्यहरु रामकाजी श्रेष्ठ, मनोज चौधरी, उज्ज्वल श्रेष्ठ, राकेश कछडियालगायतको सहभागिता थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker