रत्ननगर अस्पतालमा आइसीयू सेवा उद्घाटन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित बकुलहर रत्ननगर अस्पतालमा बुधबार आइसीयू सेवा उद्घाटन गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले एक औपचारिक कार्यक्रमका बीच आइसीयू सेवाको उद्घाटन गरेका हुन ।

अस्पतालको मुख्य भवनको दोस्रो तलामा तत्कालका लागि ५ बेडको आइसीयू सञ्चालनमा ल्याइएको मेसु मदन ज्ञावलीले जानकारी दिए । आवश्यक पूर्वाधार, उपकरण र चिकित्सक सहित तत्तकाल ५ बेडको आइसीयू सञ्चालन गरिएको र केही महिना भित्रै ८ हुँदै १० बेड बनाउने योजना रहेको उनले जानकारी दिए ।

आइसीयू सञ्चालनको लागि ५ जना मेडिकल अफिसर र ५ जना अनुभवी नर्स खटाइएको छ । विरामीको उपचारको लागि विशेषज्ञ डाक्टरहरु डाउण्डमा आउने मेसु ज्ञावलीले बताए । सो अस्पतालमा मृर्गौला डायलासिस, शन्यक्रिया, इन्डोस्कोपी लगायतको विशिष्ट सेवा प्रदान गर्दै आइरहेको सो अस्पतालले स्वास्थ्य उपचारको महत्वपूर्ण सेवाको रुपमा रहेको आइसीयू सञ्चालनमा ल्याएको हो ।

उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री जोशीले अस्पतालको रुपान्तरणको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । सेवा प्रवाह र सरसफाईमा रत्ननगर अस्पताल जिल्लाकै नमुना अस्पतालको रुपमा विकास भइरहेको भन्दै मन्त्री जोशीले प्रदेशको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न पहल सुरु गर्ने बताए । कार्यक्रममा मेयर प्रल्हाद सापकोटाले विपन्न नागरिकको उपचारको लागि अस्पतालमा नगरभित्रका तीन हजार परिवारको स्वास्थ्य बिमा र अति विपन्नको उपचारको लागि स्वास्थ्य उपचारकोष स्थापना गरिएको बताए ।

उनले आमा र बच्चाको उपचारलाई प्रभावकारी बनाउन अस्पताल परिसरमा मातृशिशु अस्पतालको भवन निर्माण भइरहेको बताए । सो अस्पतालबाट बहिरङ उपचार सेवा, स्त्री तथा प्रसूति, हार्डजोर्नी, सर्जरी, छाला तथा यौन रोग, नाक, कान र घाँटी, वालरोग, मानसिक रोग, रेडियोलोजी, रेडियोग्राफी, दन्तरोग, अन्तरंग सेवा, शिशुसदन उपचार सेवा, शल्यक्रिया, इन्डोस्कोपी, फिजियोथेरापी, प्याथोलोजी, अत्याधुनिक प्रयोगशाला सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, क्षयरोज तथा कुष्ठरोग निधान सेवा सञ्चालनमा रहेको जनस्वास्थ्य निरीक्षक रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष गोपालराज कर्मचार्यको अध्यक्षमा भएको कार्यक्रममा पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी, स्वास्थ्य सचिव बद्रिबहादुर खड्का लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपमेयर यादब प्रसाद पाठक, रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, अस्पतालका पूर्व अध्यक्षहरु जनीअहमद् शेख, देवेन्द्रकुमार श्रेष्ठ, लगायत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker