रत्ननगरमा पत्रकारलाई भाषा सम्पादनसम्बन्धी क्षमता अभिवृद्धि तालिम

रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा पूर्वी चितवनका क्रियाशील पत्रकारहरुका लागि भाषा सम्पादनसम्बन्धी क्षमता अभिवृद्धि तालिम रत्ननगरमा सुरू भएको छ ।

तालिमको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले रत्ननगरमा भएगरेका कामकारबाहीका सम्बन्धमा पत्रकारहरुले तथ्यपरक समाचार सम्प्रेरण गर्न आग्रह गरे । भएका राम्रा कामलाई राम्रो र कमिकमजोरी भए त्यसलाई औँल्याउनुपर्ने उनले बताए । रत्ननगर नगरपालिका प्रेसमैत्री रहेको बताउँदै उनले भने, ‘पत्रकारले पनि आफ्नो भूमिका इमान्दारिताका साथ निभाउन जरूरी छ ।’ समाचार लेख्दा सम्बन्धित विषयमा राम्रोसँग जानकारी लिन सके विश्वासनीयता बढेर जाने उनको भनाइ थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले स्थानीय सरकारको सुशासन प्रवद्र्धनमा जिम्मेवार बन्न सिकाउन पत्रकारिता जगत पनि पारदर्शी र इमानदार बन्नुपर्नेमा जोड दिए । समग्र नगरको समृद्धिका लागि सामूहिक दृष्टिकोण राखेर आमसञ्चार जगत अगाडि बढ्नुपर्ने उनले बताए ।

विज्ञ सल्लाहकार रामहरि न्यौपानेले पूर्वी चितवनका पत्रकारका लागि आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारहरुले पनि समग्र नगरको विकासमा योगदान गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका कोषाध्यक्ष राजेन्द्र आचार्यले बढ्दो सामाजिक सञ्जालका कारण सामाजिक चुनौती बढ्दै गएकाले त्यसलाई नियमन गर्दै जानुपर्ने बताए । पत्रकार महासंघले पत्रकारहरुको शुद्धीकरण अभियान चलाइरहेको बताउँदै अब काम नगर्ने पत्रकार आफैँ विस्थापित हुने बताए ।

पूर्वी चितवनका २५ जना पत्रकारको सहभागिता रहेको तालिममा विमल आचार्यले सहजीकरण गरेका छन् । तालिम शनिबार सम्पन्न हुँदैछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker