रत्ननगरमा गरिबी हटाउन ८२ जना महिलालाई सीपमुलक तालिम

रत्ननगर । रत्ननगर नगरपालिकाले गरिबी निबारणको लागि नगर भित्रका ८२ जना महिलाहरुलाई सीपमुलक तालिम दिएको छ ।

गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत २८ जनालाई व्यूटिपार्लर र ५४ जनालाई सिलाइकटाइ तालिम दिएको हो । सीप विकास मार्फत गरिबी निबारणको लागि वडागत रुपमा विपन्न महिलाको पहिचान गरी तालिम सञ्चालन गरिएको मेयर प्रल्हाद सापकोटाले बताए ।

आबेदन माग गरी छनौटमा परेका महिलाहरुलाई प्राथमिकताका आधारमा तालिममा सहभागी गराइएको हो । महिलाहरुलाई उद्यमी बनाएर गरिवी निबारणको लागि सीप मुलक तालिम दिइएको मेयर सापकोटाले बताए । तालिम सञ्चालनको लागि सम्बन्धनप्राप्त संस्थाबाट अनुमति दिएका ट्रेनिङ सेन्टरलाई जिम्मेवारी दिइएको छ ।

व्यूटिपार्लर तर्फ वडा नं ९ का १० जनालाई तेज व्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टरमा, वडा नं ३ का ९ जनालाई खैरहनीको पर्सामा, वडा नं १५ का ९ जनालाई इन्टरनेशनल ब्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टरमा तालिम दिइएको छ । चैत १२ गतेबाट सुरु भएको तीन महिने सीप विकास तालिम असार १२ गते समापन हुँदैछ । तालिम सकिनै लाग्दा सहभागीहरुले भने व्यवसाय सञ्चालन गर्ने योजना बनाइसकेका छन् ।

वडा नं ९ की अनिता अधिकारीले तालिम सकिए लगतै गाउँमा व्यूटिपार्लर व्यवसाय सुरु गर्ने बताइन् । व्युटिपार्लरको आधारभूत तालिम लिएकी उनले आत्मनिर्भरताको लागि व्यवसाय सुरु गर्ने योजना बनाएको बताइन् । तालिम लिएपछि काम गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ उनले भनिन् व्यवसाय सुुरु गरेरै एडभान्स तालिम लिन्छु । इन्टरनेशनल ब्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका तथा प्रशिक्षक ज्ञानु ढकालले आत्मनिर्भर हुने गरी सहभागीलाई तालिम दिएको बताइन् । यहाँ सिकेर निस्केका प्रशिक्षार्थीले सजिलै व्यवसाय सञ्चालन गर्न सक्ने भएका छन् उनले भनिन् अब आत्मविश्वासको खाँचो छ ।

त्यसैगरी सिलाइकटाई तर्फ वडा नं १५ का १२ जनालाई वडा कार्यालयमै, वडा नं ३ का १७ जनालाई वडा कार्यालयमै र वडा नं ९ का १२ जनालाई टाँडी स्थित कमला लेडिज टेर्लर एण्ड ट्रेनिङ सेन्टरमा तालिम दिइएको मेड्पा कार्यक्रम संयोजक रामप्रसाद बस्ताकोटीले जानकारी दिए । सिलाइकटाइ तालिम लिएकी शुशिला थापाले तालिम सकिए लगतै व्यवसाय सुरु गर्ने बताइन् ।

हामीले अनुभवी प्रशिक्षकहरुबाट सीप सिकेका छौं उनले भनिन् यसलाई आर्थिक उपार्जनको माध्यम बनाउने छु । मेड्पा कार्यक्रम अन्तर्गत वडा नं ८ का २५ जना पशुपालक किसानलाई व्यसायिक तालिम दिइएको छ । रत्ननगरमा २०७७ सालदेखि मेड्पा कार्यक्रम सञ्चालन भएको हो । सो नगरपालिकाको वडा नं ३, ८, ९ र १५ मा सो कार्यक्रम सञ्चालनमा रहेको छ ।

यसैबीच मेड्पा कार्यक्रमद्धारा सञ्चालित व्युटिपार्लर र सिलाइकटाई तालिमको प्रभावकारिताबारे अनुगमन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको नेतृत्वमा वडाध्यक्षहरु आशिक तामाङ, अनन्त अधिकारी, लेखा अधिकृत कृष्ण सुवेदी, वडा सचिव बेदप्रसाद पौडेल, उद्यमविकास सहजकर्ताहरु सृजना क्षेत्री र सरस्वती शर्मा लगायतको सहभागिता रहेको थियो ।

अनुगमनपछि प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सीपमुलक तालिम प्रभावकारी रुपमा अगाडि बढेको बताए । तालिम लिएकाहरुले व्यवसाय सञ्चालन गर्ने बताएको भन्दै उनले सहभागीहरुको आत्मविश्वासले कार्यक्रको उद्देश्य पुरा भएको पाइयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker