
रत्ननगर । रत्ननगर नगरपालिका प्रशासन शाखाको आयोजनामा जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि दुईदिने सीप तथा क्षमता अभिवृद्धि कार्यक्रम रत्ननगर नगरकार्यपालिकाको सभाहलमा सुरू भएको छ ।
सुशासन विकास समितिका संयोजक एवं रत्ननगर नगरपालिका वडा नं—१० का वडाध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुखअतिथि नगर उपप्रमुख यादवप्रसाद पाठकले सेवाग्राहीलाई सेवा प्रवाह गर्दा आफूसँग भएको क्षमता कति प्रदर्शन गर्ने भन्ने कर्मचारीमै निहित रहेको बताउँदै सेवाग्राहीलाई हुनसक्ने काम चुस्त र दुरुस्त ढङ्गले सम्पादन गर्न निर्देशन दिए ।
रत्ननगर नगरपालिकाका विषयगत समिति, १६ वटै वडाका जनप्रतिनिधिहरु र विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको तालिममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले स्थानीय तहको काम, कर्तव्य र अधिकारसम्बन्धी प्रशिक्षण तथा कोष तथा नियन्त्रण कार्यालय भरतपुरका कोष नियन्त्रक मुक्तिप्रसाद चापागाईंले वित्तीय अनुशासन तथा जवाफदेहिता, सार्वजनिक खरिद, ठेक्का प्रक्रियालगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशासन शाखाका प्रमुख एवं सूचना अधिकारी सविता अर्यालले सञ्चालन गरेको तालिमको पहिलो दिनको समापन गर्दै नगरशिक्षा अधिकारी बद्रिनारायण शर्माले कर्मचारीहरु अनुशासित र जिम्मेवार बन्न सके सुशासन प्रवर्द्धनलगायत सेवाग्राहीको अपेक्षा पूरा गर्न सकिने बताए ।