
रत्ननगर, असार ३ ।
पूर्वी चितवनको रत्ननगर र खैरहनीका किशोरीलाई दिइने नेतृत्व विकास र सशक्तीकरण सम्वन्धि तालिमको शुभारम्भ गरिएको छ । रिड नेपालको सहयोग र टरौली सामुदायिक पुस्तकालयको व्यवस्थापन तथा आयोजनामा किशोरीलाई दिइने तालिमको शनिबार औपचारिक उद्घाटन गरिएको हो ।
१३ वर्षदेखी २२ बर्षसम्मका किशोरीलाई १० महिना सम्म रत्ननगर वडा नम्बर ५ मा रहेको टरौली सामुदायिक पुस्तकालयमा कार्यक्रम गरिने पुस्तकालयका अध्यक्ष सागर मिश्रले जानकारी दिए । प्राविधिक सीपमा आधारित किशोरीहरुको सशक्तीकरण तथा नेतृत्व बिकाससँग सम्बन्धित ‘ट्याग परियोजना’ कार्यक्रममा ५५ जना किशोरीलाई प्राविधिक कम्प्युटर, नेतृत्व विकास,व्यक्तित्व विकास र क्षमता अभिवृद्धि सम्बन्धि तालिम दिइने मिश्रले बताए ।
रत्ननगर र खैरहनी नगरपालिकाको ४ वटा सामुदायिक विद्यालयका किशोरीको सहभागिता रहने तालीममा समुदायको अब्बल एवं सक्षम नागरिकको रुपमा ज्ञान र सीप बिकास गरि पहिचान स्थापित गराइने अध्यक्ष मिश्रले जानकारी दिए ।कार्यक्रममा बोल्दै रत्ननगरका उपमेयर यादव प्रसाद पाठकले पछिल्लो समय सामुदायिक विद्यालयमा शिक्षाको स्तर खस्किएको भन्दै यो तालिमले शिक्षाको स्तर बढाउन मद्दत पुग्ने विश्वास ब्यक्त गरे । उनले सामुदायिक विद्यालयको शिक्षाको स्तर सुधार गर्न सबै लाग्नु पर्ने बताए ।
कार्यक्रममा रत्ननगर वडा नम्बर ५ का वडाध्यक्ष वालकृष्ण चापागाईं, रिड नेपालका बोर्ड सदस्य सुशील मैनाली,रिड नेपालका कार्यक्रम अधिकृत साजन थापा, झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशवराज आचार्य ,टरौली सामुदायिक पुस्तकालय निवर्तमान अध्यक्ष प्रेम बहादुर पौडेल क्षेत्री, मालपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर खत्री ट्याग परियोजनाको कार्यक्रम संयोजक झलिया चौधरी,टरौली सामुदायिक पुस्तकालय समुन्नति अक्षयकोष संयोजक हिरादेवी थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम भोलानाथ न्यौपानेले संचालन गरेका थिए ।
