कालिकाकाे नीति तथा कार्यक्रम : खाना फाल्न नपाइने, फाले कारबाही  

कालिका । पूर्वी चितवनकाे  कालिका नगरपालिका नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ काे लागि आइतबार नीति तथा कार्यकम सार्वजनिक गरेकाे छ ।

दाेस्राे कार्यकालकाे तेश्राे नगर सभामा साे नगरपालिकाले खाना सुरक्षा र अतिविपन्नलाई नि:शुल्क स्वास्थ्य बिमा गर्ने लगायतका महत्वपूर्ण याेजना सहितकाे नीति तथा कार्यकम सार्वजनिक गरेकाे छ । मेयर विनाेर रेग्मीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा भात फाल्न नपाइने र फाल्नेलाई कार्यविधि बनाएर कारबाही गर्ने उल्लेख गरिएकाे छ ।

साे नगरपालिकाकाे पहाडी वडामा बसाेबास गर्ने सीमान्तकृत चेपाङ समुदायलाई विहान बेलुका छाक टार्न पनि मुश्किल छ । एउटै नगरका काेहीले खान नपाउने र काेहीले भात फाल्ने अबस्थाकाे अन्त्य गर्न नीति तथा कार्यक्रममा उक्त विषयलाई समावेश गरिएकाे मेयर रेग्मीले बताए ।

भात फाल्न नदिन सुरुवाती चरणमा घरघरमै सुचना पुग्नेगरी अभियान सञ्चालन गर्ने, पार्टी प्यालेस र हाेटलहरुमा सुचना टास गर्ने,विवहा,ब्रतबन्ध र उत्सवहरुमा पनि सचेतनामुलक व्यानर राख्ने गरि कार्यविधि बनाइने मेयर रेग्मीले बताए । मेयर रेग्मीले भात फाल्नेलाई कार्यविधि बनाएर कारबाही गरिने बताए । साे नगरपालिकाले अति विपन्नकाे नि:शुल्क स्वास्थ्य बिमा गर्ने जनाएकाे छ ।

नगरप्रमुख स्वास्थ्य बिमा काेष स्थापना गरि एक बर्ष भित्र करिब २ हजार ५०० घरधुरीकाे स्वास्थ्य बिमा गर्ने गरि नीति तथा कार्यक्रम सार्वजनिक गरिएकाे छ । त्यसका लागि आवश्यक बजेट विनियाेजन गर्ने मेयर रेग्मीले बताए । नगर भित्रका २०० युवालाई एक बर्ष भित्र उद्यमी बनाईने छ । त्यसका लागि नगरपालिकाले युवाहरुलाई आर्थिक सहायता संगै तालिम दिएर प्रविधि हस्तान्तरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

सीप विकास मार्फत विपन्नकाे जीवन स्तर उकास्न अर्थपूर्ण तालिम सञ्चालन गर्ने र उत्पादित सामाग्रीकाे बजारीकरणकाे लागि कालिका काेसेली घर निर्माण गरि सञ्चालनमा ल्याउने जनाइएकाे छ । काेसेली घर स्थानीय सरकारले नै सञ्चालन गर्ने छ । कृषि उत्पादन बढाउन र रैथाने बाली संरक्षणकाे लागि प्रबर्धनात्मक कार्यक्रम ल्याइएकाे मेयर रेग्मीले बताए । प्राङ्गारिक खेती तथा व्यवसायिक खेती प्रबर्धनकाे लागि मल,बीउ र उपकरण खरिदमा अनुदान तथा रैथानेबाली जाेगाउन मेकईन कालिका कार्यक्रम मार्फत बजारिकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।

मेडईन कालिका कार्यक्रम मार्फत मह, च्याउ, केराउ, फाफर लगायतका बाली उत्पादनलाई प्राथमिकता दिएर त्यसलाई मेडईन कालिका अन्तर्गत ब्राण्डिङ गरिने नगर प्रमुख विनाेद रेग्मीले जानकारी दिए । कृषि उत्पादन बढाउन टाेलमा कृषि प्राविधिक कार्यक्रम ल्याईएकाे छ । साे नगरपालिकाले सार्वजनिक ठाउँमा ध्रुमपान गर्न प्रतिबन्ध लगाउने र नगरपालिकाकाे निर्देशन पालना नगरे कारबाहि गर्ने मेयर रेग्मीले बताए ।

साे नगरपालिकाले आगामी आर्थिक बर्षकाे लागि अर्काे एउटा नयाँ याेजना सार्वजनिक गरेकाे छ । सीमान्तकृत चेपाङ समुदायकाे उत्थानकाे लागि दुना टपरी उद्योग सञ्चालन गर्ने जनाएकाे छ । प्राकृतिक स्राेतलाई चेपाङकाे आयस्राेतकाे माध्यम बनाउन दुना टपरी उद्योग सञ्चालन गर्ने याेजना बनाएकाे मेयर रेग्मीले बताए । ८० बर्ष माथीका जेष्ठ नागरिकलाइ घरमै सामाजिक सुरक्षा भत्ता र उपचारलाई यस बर्ष पनि निरन्तरता दिइएकाे छ ।

सुत्केरी महिलाकाे स्वास्थ्यकर्मी परिचालन गरि घरकै उपचार गर्ने गरि नीति तथा कार्यक्रम ल्याइएकाे छ। समुदायिक विद्यालयमा शेक्षिक विकासका लागि आवश्यक काम सहित शिक्षालाई आम्दानीसंग जाेड्न सामुदायिक विद्यालयमा सीपशाला सञ्चालन गर्ने, प्राविधिक शिक्षा अध्ययान गर्ने विपन्न समुदायका विद्यार्थीलाई पूर्ण छात्राबृत्ती प्रदान गर्ने नीति तथा कार्यक्रममा जनाइएकाे छ । पठन संस्कृतिको विकास गर्न एक वडा एक पुस्तकालय स्थापना,
शुक्रवार अतिरिक्त क्रियाकलाप र परियोजना कार्यमात्र गर्ने तथा शुक्रवारलाई बुकलेस डे कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

भाैतिक पूर्वाधार निर्माण तर्फ नगर यातायात गुरुयाेजना निर्माण गरि सडक सञ्जालकाे विस्तार, स्तराेन्नती र मर्मत गरिने, व्यवस्थित नगर बसपार्क बनाउन सम्भाव्यता अध्यान गर्ने तथा बजार क्षेत्रमा अटाेपार्क,शक्तिखाेर र रन्तेसमा वडा स्तरीय वहुउद्देश्यीय बसपार्क निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । तत्कालिन पदमपुर स्थानान्तरण आयोगको परिकल्पना मुताविकका वुङखोलालाई थाडखोलालाई व्यवस्थापन गरी नगरपालिका भित्रको डुवान समस्याको दीर्घकालिन समाधान गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

यसको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयन गर्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय बासिन्दासँग समन्वय तथा सहकार्य गरिनेछ । कालिका नगरपालिकालाई बर्खाकाे समयमा डुवानमा पर्ने बुङखाेला र थाङखाेला व्यवस्थापनकाे कामलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिएर समाबेश गरिएकाे छ ।

बुङ्खोलाको पानी खोलाको बहावलाई मध्यनजगर गर्दै थाङ्खोलामाबाट बगाउन दोभानमा खोला नियन्त्रण गेट (ब्यारेज) निर्माण गरिनेछ, ब्यारेज, देखि खगेडी पुल सम्म खोलाले कटान गर्न नसक्ने गरी तटबन्ध, सिचाई र वैकल्पिक पर्यटकीय सडक निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कयर खोला, थाङ् खोला, बुङ खोला, शक्ति खोला, सिद्धिखोला, टुमटी खोला, सिन्ति खोला लगायतका खोलाहरूको संरक्षण गर्दै प्राकृतिक उपहारको रूपमा प्राप्त हुने नदीजन्य पदार्थको उत्खनन र प्रयोग मार्फत खोलाको बहाव नियन्त्रण र कटान नियन्त्रण गर्ने तथा आम्दानीकाे स्राेत र स्थानीयकाे आयस्राेतसंग जाेड्ने जनाइएकाे छ । मेयर रेग्मीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएकाे उपमेयर विमला तामाङले जानकारी दिइन् ।

नगर सभामा प्रमुमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्यायले सहजीकरण गरेका थिए । नगर सभा अन्तर्गत असार १० गते बजेट प्रस्तुत हुने छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker