
रत्ननगर । प्रजातन्त्रिक विचार समाज नेपालले सत्ता गठबन्धनका कारण मुलुकमा अस्थिरता निम्तिएको निष्कर्ष निकालेको छ । समाजको सौराहामा सम्पन्न दुई दिने बर्तमान राजनीतिक परिस्थितिमा प्रजातान्त्रिक विचार समाजको भूमिका विषयक विचार गोष्ठीले राजनतिक अस्थिरताको मुख्य कारक सिद्धान्त नमिल्ने दलहरुको गठबन्धन रहेको निष्कर्ष निकालेको हो । निर्वाचनमा गरिएको गठबन्धनले जनताको अधिकारी कुन्ठित र सत्ता निर्माणको लागि भएको गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको समाजले स्पष्ट पारेको छ ।
दलहरुको अहमकार, गठबन्धन र भष्टाचार चरम उत्कर्षमा पुगेका कारण आर्थिक तथा राजनीतिक संकट देखापरेको समाजले औल्याएको छ । विचार गोष्ठीको समापन पछि प्रजातान्त्रिक विचार समाजले बर्तमान राजनीतिक अबस्थाको बारेमा धारण सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा समाजका पूर्व अध्यक्ष डा.केदार नर्सिह केसीले सत्ता प्राप्तीका लागि विचार र सिद्धान्त विपरितका पार्टीहरु बीच गठबन्धन भएका कारण मुलुक अस्तिरता तर्फ धकेलिएको बताए । यो अपवित्र गठबन्धन हो उनले भने हुनै नसक्ने काम गरियो,त्यसको असर देशले भोगिरहेको छ । दलहरुको सत्ता स्वार्थका कारण संविधान धरापमा परेको भन्दै उनले दलहरुको यस्तै रबैया कायम रहे व्यवस्था नै फेल हुने तर्क गरे ।
निर्वाचनमा जनताको मौलिक अधिकार खोसिएको भन्दै उनले आउने निर्वाचनमा गठबन्धन गर्न नहुने बताए । केसीले अहिलेको सरकार विधि सम्मत निर्माण नभएको भन्दै उनले जनताको अधिकार खोसेर बनाइएको सरकारले मुलुकलाई निकास दिन नसक्ने बताए । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले दलहरुको अहमकारले मुलुक अन्धकारमा पुगेको बताए । मुलुकमा आर्थिक संकट छ उनले भने सरकार यो संकट टार्न तर्फ केन्द्रित भएको देखिदैन । नेताहरुमा देखिएको भष्टप्रबृतिका कारण जनतामा निरासा छाएको उनको भनाई छ । नक्कली भूटानी शरणर्थी प्रकरणमा शीर्ष नेताहरु जेल जानुपर्ने अबस्था आउनु नेपाली राजनीतिको सबै भन्दा दुःखद क्षण भएको बाग्लेको भनाई छ । उनले विचार र सिद्धान्त नमिल्ने पार्टीहरु बीचको गठबन्धनले लोकतन्त्र धरापमा परको बताए । विचार गोष्ठी पछि प्रजातान्त्रिक विचार समाजले सौराहा घोषणापत्र जारी गरेको छ ।
पत्रकार सम्मेलनमा प्रजातान्त्रिक विचार समाज चितवनका अध्यक्ष सुरेशचन्द्र आचार्यले घोषणापत्र सार्वजनिक गरेका थिए । घोषणपत्रमा नेपालका राजनीतिक दलहरुमा देखिएको दम्भ तथा अहंकारले नेपालको राजनीति विकृतिपूर्ण बनेको, संबैधानिक निकायलाई संविधानले निर्दिष्ट गरेको व्यवस्था अनुसार कार्यसम्पादन, संबैधानिक निकाय तथा न्यायिक निकायको उच्च सम्मान गर्दै ति निकायले समेत जनभावना र संविधानले निर्दिष्ट गरेको व्यवस्था अनुरुप कार्य गरेर जनताको भावन जागृत गर्न आग्रह गरिएको घोषणपत्रमा उल्लेख छ ।

त्यसैगरी जनअधिकारका विषयमा दलहरु प्रतिबद्ध हुनुको सट्टा उल्टै मोर्चा र गठबन्धन निर्माण गरी जनअधिकारी खोस्ने तथा मुलुकलाई पश्चगामी दिशा तर्फ लैजाने प्रयास तथा सरकार निर्माणका सन्र्दभमा देखिएको अंकगणित अलोकतान्त्रिक र दलका नेता तथा कार्यकर्ता,उच्च तहका कर्मचारीहरुको व्यापार,कलकारखाना नभइ अकुत सम्पत्ती आर्जन गरेको देखिएकोले भष्टाचार मौलाएको घोषणपत्रमा उल्लेख छ । भष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन स्थापीत गर्न राज्यले तत्कालै उच्च स्तरीय छानविन समिति गठन गरी पारदर्शी समाज निर्माणका लागि सरकारसंग माग गरेको जिल्ला अध्यक्ष आचार्यले जानकारी दिए ।