रत्ननगरमा १६ जना किसानलाई अनुदानमा भैसी  

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले वडा नं ३ का १६ जना किसानलाई दुधालु भैसी वितरण गरेको छ । भैसी पकेट क्षेत्र अन्तर्गत सो वडाका किसानहरुलाई ५० प्रतिशत अनुदानमा ३३ वटा भैसी वितरण गरिएको हो । किसानलाई व्यवसायिक बनाउदै दुध उत्पादन बृद्धि गर्न किसानलाई दुधालु भौसी, गोठ सुधार, चापाकटर, पानी तान्ने मोटर, ठेलागाडा र औषधि वितरण गरिएको हो ।

नगरमा पशुपालनको विकासको लागि संघीय सरकारको आर्थिक सहयोगमा भैसी पकेट क्षेत्र सञ्चालन गरिएको हो । पकेट क्षेत्र सञ्चालनको लागि साइराम पशुपालन फर्म समुह गठन गरी काम गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिए । समुहमा रहेका १६ जना किसानहरुले गोठमा कम्तिमा १०० वटा भैसी र दैनिक एक हजार लिटर दुध उत्पादन गर्नुपर्ने हुन्छ । सो वडा अन्तर्गतको हाजिपुरमा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले सयुक्त रुपमा किसानलाई भैसी तथा आवश्यक सामाग्री हस्तान्तरण गरेका थिए ।

सो अबसरमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले पशुपालनको विकास गरी दुध उत्पादन बढाउन भैसी पकेट क्षेत्र सञ्चालन गरिएको बताए । पशुपालन मार्फत किसानको जीवन स्तर उकास्ने प्रमुख उद्देश्य हो उनले भने भैसी जोगाउन र दुध उत्पादनलाई समेत जोड दिएका छौं । सो वडाका वडाध्यक्ष समेत रहेका खरेलले परम्परागत पशुपालनबाट किसानलाई माथी उठाउन पकेट क्षेत्र सञ्चालन गरिएको बताए । सो कार्यक्रममा किसानलाई भैसी सहित चारजनालाई चापाकटर, एक जनालाई ठेलागाडा, २ जनालाई पानी तान्ने मोटर, १६ किसानलाई औषधि वितरण गरिएको पशु विकास अधिकृत पौडेलले जानकारी दिए । पकेट क्षेत्र अन्तर्गत १६ जना किसानको गोठ निर्माण तथा मर्मतको काम गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा समुहका अध्यक्ष रामचन्द्र धितालले भैसी पकेट क्षेत्रमा भएको लगानीको आयव्याय सार्वजनिक गरेका थिए । आर्थिक विकास समितिका संयोजक खरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु हेमराज थापा,कलाधार पौडेल,कृष्ण चौधरी र कृषि विकास अधिकृत प्रविन लामा लगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker