फरार शिवशिखर सहकारीका अध्यक्ष केदार शर्मा भारतबाट पक्राउ

असार १२ ।

सहकारीमार्फत करिब १४ अर्ब रुपैयाँ ठगीको आरोपमा फरार शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले न्यौपानेलाई सोमबार घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । सिआइबी को टोलीले भारतीय प्रहरीको सहयोगमा न्‍यौपानेलाई पक्राउ गरेर नेपाल ल्याएको हो ।

शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको छ । हिनामिनाको मुख्य नाइके न्यौपाने भएको अनुसन्धानमा खुलेपछि उनलाई भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको छ । अन्य जिल्लामा पनि उनीविरुद्ध अनुसन्धान जारी छ ।

सहकारीमा समस्या आएपछि केही महिनायता उनी भारतमा बस्दै आएका थिए । बाँकेको कोलहपुर स्थायी घर भएका न्यौपानेले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा लगानी गरेकोसमेत अनुसन्धानमा खुलेको छ ।

न्यौपानेलाई मंगलबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । न्यौपनाले भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको पूर्वअध्यक्ष हुन । उनले सहकारीको पैसा नियमविपरीत आफ्ना निजी कम्पनीमा लगानी गरेका थिए । ती कम्पनीको व्यापार खस्किएपछि सहकारी समस्यामा परेको हो । जसकारण निक्षेपकर्ताहरूले आफ्नो पैसा फिर्ता पाएका छैनन । हाल सहकारी बन्द छ । नेपालको सहकारी क्षेत्रमा यो अहिलेसम्मकै ठूलो ठगी हो । सो सहकारीबाट एक लाखभन्दा धेरै पीडित रहेका छन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker