
चितवन, असार १५ ।
‘मिष्टर नेपाल २०२३’ को अन्तिम प्रतिस्पर्धाका लागि रत्ननगरका डाक्टर विजय दुवाडी सहित २० प्रतियोगी छानिएका छन् । उपाधिको बलियो दावेदारको रुपमा हेरिएका डाक्टर दुवाडी सहित २० प्रतियोगी हजारौं सहभागिलाई पछि पार्दै छानिएका हुन् । पहिलो चरणका लागि ३ सय प्रतियोगी छानिएको प्रतिस्पर्धामा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायत विभिन्न प्रतिष्ठित पेशासँग आबद्ध प्रतियोगी रहेका छन् ।
पढाइमा अब्बल रत्ननगर २ हाइस्कुल रोड निवासी दुवाडीले एसएलसी रत्ननगरकै स्काइराइडर आवासीय माध्यामिक विद्यालयबाट उत्तिर्ण गरेका हुन् । सेन्ट जेभिएर्समा प्लस टु अध्ययन गरेका दुवाडीले छात्रवृत्तिमा पोखराको मनिपालबाट एमविविएस गरेका हुन् । ‘मिष्टर नेपाल २०२३’ को उपाधि जित्ने विश्वास व्यक्त गरेका दुवाडीले भोटको लागि समेत अपिल गरेका छन् । उनले खल्ती एपवाट भोट गर्न सकिने भन्दै सबैलाई भोट गरेर आफुलाई जिताउन आग्रह गरेका छन् ।
छनौट भएका सबै प्रतियोगी फाइनल प्रतिस्पर्धाका लागि अब प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।प्रशिक्षणमा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषय समावेश छ ।
‘मिष्टर नेपाल’ नेपालमा आयोजना हुने पुरुषहरुको सहभागीता रहने सबैभन्दा प्रतिष्ठित प्रतियोगीता हो । यसको छनौट चरणको अडिसन बिराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरा र काठमाडौंमा भएको थियो ।
यो पटक मिष्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’को नामबाट आयोजना गरिएको हो । १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागीता रहेको प्रतियोगीतामा ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिक रहनुपर्ने प्रावधान राखिएको थियो । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।

प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् ।