रत्ननगरमा आजदेखि वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सुरु

रत्ननगर, असार १५ ।

रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको आयोजनामा रत्ननगरमा आजदेखि वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला सुरु भएको छ । रत्ननगर १ मा रहेको होटल स्टार चितवनमा आजबाट रोजगार मेला सुरु भएको हो । भोलि सम्म चल्ने मेलाको उद्‌घाटन कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले नगरवासी युवालाई स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न रत्ननगर नगरपालिका लागिपरेको बताएका छन् । उनले आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिमको व्यवस्था गर्ने र रोजगारदाताहरुसँग समन्वयगरी रोजगारीको अवसर दिलाउन मेला आयोजना गरिएको जानकारी दिए ।

सीप र क्षमता भएका व्यक्ति कोही पनि बेरोजगार बन्नु नपर्ने बताउँदै उनले भने, ‘स्वदेशमै उद्यमी बन्न होस् वा वैदेशिक रोजगारीमै जानका लागि पनि आवश्यक तालिम लिनुपर्छ । हामीले इन्स्योर परियोजनाअन्र्तगत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम दिन प्रतिबद्ध छौँ ।’

कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठकले शैक्षिक योग्यता, दक्षता र क्षमता हुँदाहुँदै पनि रोजगारीको अवसरबाट वञ्चित भएकाले मेलाबाट लाभ उठाउन सक्ने र सीप सिक्न चाहनेका लागि विभिन्न तालिमहरुमा सहभागी गराइने जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले रोजगारीको खोजीमा रहेका र रोजगारी दिनेबीच प्रत्यक्ष भेट गराएर रोजगारीको अवसर सिर्जना गर्न मेला कोशेढुङ्गा साबित हुने बताए । उनले मेला अवलोकन गरी लाभ लिन नगरवासीसँग आह्वान् गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले विभिन्न उद्योगहरुमा अहिले जनशक्तिको अभाव भइरहेको बताउँदै आवश्यक सीप सिकेर दक्ष बन्न सके एकहजार बढी युवालाई रोजगार प्रदान गर्न सकिने बताए ।

कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी, चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष गोविन्द खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा आयोजित मेलामा ३४ स्टल रहेका छन् । मेलामा उद्योग वाणिज्य संघ चितवन, चितवन चेम्बर्स अफ कमर्श, रत्ननगर उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ रत्ननगर समिति, राप्ती उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ नेपाल, क्षेत्रीय होटल संघ नेपाल (हान) सौराहा, नेपाल पोल्ट्री महासंघ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल सौराहाले सहकार्य गरेका छन् ।

मेलामा शुक्रबार करिब दुई हजार जनाले अवलोकनपश्चात् व्यक्तिगत विवरण भरेको कार्यक्रम अधिकृत विश्वास श्रेष्ठले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker