
रत्ननगर । व्यवसायिक रुपमा केराखेति गरिरहेका चितवनका किसानलाई बुधबार स्प्रे ट्याङ्की वितरण गरिएको छ । चितवन केरा उत्पादन संघको सहजिकरणमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना इकाई चितवनले ५० प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की वितरण गरिएको हो ।
परियोजना अन्तर्गत सञ्चालित केरा जोनमा आबद्ध १५० जना किसानहरुलाई स्प्रे ट्याङ्की वितरण गरिएको संघका महासचिव जनकराज पन्तले जानकारी दिए । बरिष्ठ कृषि विकास अधिकृत धन बहादुर थापा प्रमुख अतिथि रहेको सो कार्यक्रम चितवन केरा उत्पादन संघका अध्यक्ष माधवप्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो ।
चितवन केरा जोनका संयोजक एवं चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष बिष्णुहरि पन्तले केरा उत्पादनको हिसाबले चितवन अब्बल जिल्लाको रुपमा परिचित रहेको भन्दै बजारीकरणमा भने समस्या यथाबत रहेको बताए । केरा जोनका कृषि अधिकृत इन्द्रप्रसाद ढुंगानाले जोन अन्तर्गत अहिले सम्म भएका काम र प्रगतिको बारेमा जानकारी गराएका थिए ।