
रत्ननगर । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले पूर्वी चितवनको रत्ननगरमा तीन महिने सिलाइकटाई तालिम बुधबार देखि सुरु भएको छ । रत्ननगर नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा नारी जागरण केन्द्र रत्ननगरले आफ्नै भवनमा तालिम सुरु गरेको हो । वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले एक औपचारिक कार्यक्रमका बीच तालिमको उद्घाटन गरेका थिए ।
सो अबसरमा उनले विपन्न समुदायका महिलाहरुको जीवन स्तर उकास्न सीप मुलक तालिम आयोजना गरिएको बताए । उनले उद्यमी बन्न चाहने महिलाहरु समुहमा आएर बजेट माग गरे आफुले रित्तोहात नपठाउने बताए । केन्द्रकी उपाध्यक्ष विष्णुकुमारी नेपालले समाज परिर्वतनका लागि हरेक नागरिकका सीप आवश्यक रहेको भन्दै आफुले सिकेको सीपलाई आर्थिक उपार्जनको माध्यम बनाउनु पर्ने बताइन् । केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले केन्द्रले महिला हिंसा न्यूनीकरण उनीहरुको सशक्तिकरण सहित महिलाहरुको आयआर्जनको लागि सीप विकास तालिम सञ्चालन गर्दै आएको बताइन् । उनले विपन्न समुदायका छोरीहरुको शिक्षाको लागि छोरी शिक्षा अक्षयकोष स्थापना गरिएको जानकारी दिइन् ।
रत्ननगर नगरपालिकाकी निर्वतमान उपमेयर विमला दुवाडीले महिलाहरुलाई आयआर्जनसंग जोड्न सकेमात्र समाज परिर्वतन हुने धारणा राखिन । २० जना महिलाहरु सहभागी सो तालिमको प्रशिक्षकमा पार्वती मगर रहेको केन्द्रकी महासचिव सरस्वती लामाले जानकारी दिइन् । उद्घाटन कार्यक्रममा वडा नं १३ का वडा सदस्य हुकुम सुयाल,जलदेवी संकटा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक थापा,दी हेल्पिङ युथ क्लवका अध्यक्ष संजय तामाङ लगायतले मन्तव्य राखेका थिए । संस्थाकी अध्यक्ष विमला सुवेदी खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नेपालले स्वागत मन्तव्य तथा महासचिव लामाले कार्यक्रम सञ्चालन गरेका थिए ।