
रत्ननगर । रत्ननगर नगरपालिकाले महिला भलिबल खेलाडीलाई शुक्रबार नगद सहित सम्मान गरेको छ । भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम भरतपुर मेयरकप भलिबल प्रतियोगितामा दोस्रो भएको टिमका खेलाडीहरुलाई सो नगरपालिकाले नगद सहित सम्मान गरेको हो । मेयर प्रलाद सापकोटाको कार्यकक्षमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ९ जना खेलाडीलाई सम्मान गरिएको हो ।
प्रतियोगितामा दोस्रो भएको रत्ननगरको टिमले ११ हजार नगद पुरस्कार प्राप्त गरेको थियो । सो नगरपालिकाले खेलाडीलाई सम्मान सहित ३४ हजार रुपैया समेत प्रदान गरेको छ । प्रति खेलाडी ५÷५ हजार वितरण गर्न मिल्ने गरी ११ हजारमा सो नगरपालिकाले पुरस्कार स्वरुप ३४ हजार थप गरेको हो । महिला भलिबल खेलाडीहरु सृजना परियार, अम्बिका श्रेष्ठ, रोजिना थापा, शुष्मा भूजेल, दिब्यानी रानाभाट, रन्जना भूजेल, आरती गुरुङ, प्रसुना मगर र बविता अधिकारीलाई सम्मान गरिएको हो । सो अबसरमा मेयर सापकोटाले महिला भलिबल खेलाडीले प्रतियोगितामा दोस्रो स्थान हासिदल गर्नु सामान्य कुरा नभएको बताए । उनले राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने महिला खेलाडी उत्पादन गर्न आफुले सहयोग गर्न तयार रहेको बताए ।
मेयर सापकोटाले रत्ननगरमा बहुउद्देश्यीय स्टेडियम निर्माणको लागि आर्थिक बर्ष २०८०/८१ को बजेटमा एक करोड विनियोजन गरेको जानकारी दिए । कार्यक्रममा उपमेयर यादबप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, विज्ञ सल्लहाकार रामहरि न्यौपाने, खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरी लगायतको सहभागिता रहेको थियो ।