
भक्तपुर । २०८० असार २२ गते, शुक्रबार
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यमा भक्तपुर अस्पतालको ११९ औं वार्षिकोत्सव कार्यक्रमको शुक्रबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री जोशीले अस्पतालको उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै देशकै उत्कृष्ट अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई थप व्यवस्थित र स्तरोन्नति गर्नेतर्फ प्रदेश सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो ।
बागमती प्रदेश सरकारले आ.व. २०८०।८१ को बजेटमा भक्तपुर अस्पतालमा सीटि स्क्यान खरिदको लागि आवश्यक बजेट विनियोजन भएको अवगत गराउँदै अस्पतालका स्टाफ, सञ्चालक समिति, जनप्रतिनिधि र सबै तहका सरकारको सहयोगका कारण भक्तपुर अस्पतालले आजको प्रगति हासिल गर्न सफल भएको बताउनुभयो ।
अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लानुपर्नेमा जोड दिँदै मन्त्री जोशीले बागमती प्रदेश सरकारले बागमती प्रदेशअन्तर्गतका अस्पतालहरुमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त सेवा प्रदान गर्ने नीति लिएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पताल सेवामुखी संस्था भएको हुँदा व्यापक जनताको निःस्वार्थपूर्वक सेवा गर्ने भावनाले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक अस्पतालहरुको स्तरोन्नति भए निजी अस्पतालहरु स्वतः ओझेलमा पर्ने बताउँदै अस्पतालको भौतिक संरचनाभन्दा अस्पतालको लागि आवश्यक स्वास्थ्य उपकरण र चिकित्सक तथा कर्मचारी व्यवस्थापन महत्वपूर्ण पक्ष रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरी दैनिक ८०० भन्दा बढी बिरामीहरुको सेवा, निःशुल्क रगत जाँच र अक्सिजन उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले चिकित्सक र कर्मचारीहरुको एकताले संस्थाको दिगो विकास हुने बताउँदै भक्तपुर अस्पतालले व्यापक जनताको सेवा गर्ने उद्देश्य राखी विशेषज्ञ सेवाहरु थप्दै लानुपर्ने बताउनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले भक्तपुर अस्पतालले हाल सम्पूर्ण विषयको विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको बताउँदै आगामी दिनहरुमा पनि उच्चस्तरीय सेवा प्रदान गर्न कटिबद्ध रहेको बताउनुभयो । उहाँले भक्तपुर अस्पतालमा छिटै सिटी स्क्यान सेवा बिस्तार गरिने बताउँदै अस्पताललाई २०० शैय्यामा स्तरोन्नति गर्न बागमती प्रदेशबाट आवश्यक पहलको लागि अनुरोध गर्नुभयो ।
त्यस्तै भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले वार्षिकोत्सव कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा प्रमुख अतिथि तथा अतिथिहरुमा धन्यवादज्ञापन गर्दै भक्तपुर अस्पतालको सेवालाई थप प्रभावकारी रुपमा अगाडि बढाउन अस्पतालको सिंगो टीम क्रियाशील भई अगाडि बढ्ने बताउनुभयो ।
उक्त कार्यक्रममा बागमती प्रदेशका माननीय सभासद् सुरेश श्रेष्ठ, मा. भुवनकेशरी श्रेष्ठ, मा. धनेश्वरी प्रजापति, बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डि.पि ढकाल, पत्रकार महासंघका अध्यक्ष जगत प्रजापतिले पनि बोल्नुभएको थियो ।

वार्षिकोत्वको अवसरमा प्रमुख अतिथि स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालका चिकित्सक र कर्मचारीहरुलाई सम्मान गर्नुभएको थियो ।