
रत्ननगर । लघुवित्तीय संस्था विरुद्ध संघर्ष समितिले आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउदै लगेको छ । लघुवित्तीय संस्था खारेजीको माग गर्दै १६ महिना अघिबाट सुरु भएको आन्दोलन सडक संघर्षपछि प्रदेश र नेपाल बन्द सम्म पुगेको छ । लघुवित्तीय संस्था विरुद्ध संघर्ष समिति चितवनले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी सडक संघर्षपछि प्रदेश र नेपाल बन्दको आयोजना गरेको जानकारी दिएको छ ।
यही असार २५ गते बागमती प्रदेश र असार २९, ३० र ३१ गते नेपाल बन्दको घोषणा गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ । लघुवित्तीय संस्था खारेजी र सामुहिक ऋण मिनाहा लगायतका माग राखेर आन्दोलन सुरु गरेको संघर्ष समितिले सरकारले आफ्नो माग सुनुवाई नगरेका कारण प्रदेश र नेपाल बन्दको घोषण गर्नुपरेको लघुवित्तीय संस्था विरुद्ध संघर्ष समिति चितवनकी अध्यक्ष सुधा पाठकले जानकारी दिइन् । लघुवित्तीय संस्थाहरुले ऋण खाएका महिलाहरुलाई धरपकट गर्ने, कुटपीट गर्ने, ज्यान मार्ने धम्की दिने लगायतका काम गरेपछि पीडितहरु संघर्ष समिति बनाएर आन्दोलनमा छन् ।
लघुवित्तीय संस्थाको ज्यादतीका कारण आत्महत्या गर्नुपर्ने अबस्था आएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको अध्यक्ष पाठकले बताइन् । ग्रामिण क्षेत्रका सुकुमबासी महिलाहरुलाई ऋण लगानी गर्ने र तिर्न ढिला ग¥यो भनेर उठिबास लगाउन खोजियो उनले भनिन् पीडित महिलाहरुको ज्यान बचाउन आन्दोलन सुरु गरेका हौं । अध्यक्ष पाठकले नेपाल बन्द गर्दा समेत सरकारले माग पुरा नगरे सडकमै सुत्ने बताइन् । प्रदेश र नेपाल बन्दको घोषणा केन्द्रीय समितिले गरेको हो । चितवनमा एक हजार ३०० बढी महिलाहरु लघुवित्तीय संस्थाबाट पीडित छन् । नेपालमा पीडित महिलाहरुको संख्या ३३ लाख रहेको छ । पत्रकार सम्मेलनमा लघुवित्तीय संस्था विरुद्ध संघर्ष समितिका केन्द्रीय सचिव रमेश तामाङले लघुवित्तीय संस्थाहरुको ज्यादतीले सिमा नाघेका कारण निर्णायक आन्दोलन गर्नुपरेको बताए । १६ महिना अघि सुरु भएको आन्दोलन निर्णायक मोडमा पुगेको छ उनले भने सरकारले हाम्रो पीडा सुनेन, अब सशक्त आन्दोलन सुरु भयो ।
तामाङ अन्तिम किस्ता बुझाउदा सम्म साविककै साँवा सरह व्याज लिने र सेवा शुल्क बापत चर्को पैसा असुल्ने गरेका कारण आर्थिक अबस्था कमजोर भएका महिलाहरु पीडित बनेको बताए । केन्द्रीय उपाध्यक्ष धनकुमारी विकले लघुवित्तीय संस्थाबाट पीडित हुने महिलाको संख्या बढ्दै गएको बताइन् । हामीले सरकारको सहयोग खोजेका छौं उनले भनिन् तर सरकार कानमा तेल हालेर बस्यो । उनले नेपाल बन्द गर्दा समेत सरकारले महिलाको चित्कार नसुने सडकको छाप्रो हालेर बस्ने चेताबनी दिइन् ।
