
रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ भटेनीमा रहेको मुनलाइट इङ्लीस बोडिङ स्कुलले २०७९ सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।
३.८० जिपीए ल्याइ साे विद्यालय नगरमै पहिलो हुन सफल भएको हो । सो विद्यालयबाट परीक्षामा सहभागी छात्र तर्फ मनिष कुमाल र छात्रा तर्फ युनिस्का पौडेलले समान ३.८० जिपीए ल्याएका छन् । यो संस्थागत र सामुदायिक बिद्यालय तर्फ सबैभन्दा बढी जिपिए भएको बिद्यालयका प्राचार्य चित्र बहादुर रायमाझीले जानकारी दिए ।
पाँच जना विद्यार्थीले ‘ए’ प्लस ल्याएपछि सो विद्यालय संस्थागत र सामुदायिक विद्यालय तर्फ पहिलो हुन सफल भएको प्राचार्य रायमाझीले बताए । परीक्षामा सहभागी ममता रिजाल र एकीन अधिकारीले समान ३.७० र आशय तिवारीले ३.६५ जिपीए ल्याएका छन् । परीक्षामा सहभागी २८ जना विद्यार्थी मध्ये ५ जनाले ‘ए’ प्लस, २ जनाले ‘ए’, ४ जनाले ‘बी’ प्लस, ७ जनाले ‘बी’, ५ जनाले ‘सी’ प्लस र ५ जनाले ‘सी’ ल्याएको हो ।
२०५३ सालमा स्थापना भएको सो विद्यालय २०६४ सालबाट एसएलसी परीक्षामा सामेल भएको हो ।

२०७० सालको एसएलसी परीक्षामा ८९ प्रतिशत अंक ल्याइ रचना विष्ट छात्रा तर्फ पूर्वी चितवन प्रथम र २०७८ सालको एसइई परीक्षामा ३.९५ जिपीए ल्याइ अमिता राई नगर प्रथम भएकी थिइन् । ग्रमिण क्षेत्रका बालवालिका अध्यायन गर्ने सो विद्यालयले शिक्षण सिकाइलाई प्रभावकारी बनाउदै लगेको छ ।
‘हामी नाफामुखी कहिल्यै भएनौं’ प्राचार्य रायमाझीले भने ‘विद्यार्थीको भबिष्य सोचेर शिक्षण सिकाइलाई परिमार्जन गर्दै लगेका छौं’ । गुणस्तरीय शिक्षामा जोड दिएको भन्दै प्राचार्य रायमाझीले त्यसैको प्रतिफल स्वरुप मुनलाइटमा विद्यार्थीको आर्कषण रहेको बताए ।