इक्यान सचिवमा फिलिप डिसीको उम्मेदवारी, भन्छन्– नेपाललाई शैक्षिक हब बनाउन लाग्नेछु

नेपाललाई एजुकेसन हब बनाउनका लागि सुरुवाती पाइला चाल्छु

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि राइटपाथ करियर काउन्सिलिङका संस्थापक सीईओ फिलिप डिसीले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालको शैक्षिक व्यवस्था सुधार गरी नेपाललाई एजुकेसन हब बनाउने प्रक्रियाको सुरुवात गर्न आफूले सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

‘नेपालबाट विद्यार्थी मात्र पठाउने होइन,’ उनले भने, ‘विदेशी विद्यार्थी नेपालमा भित्र्याउन प्रशस्त सम्भावना छन् । तर, त्यसका लागि कानुन बन्नुपर्छ । कानुन अझै बनिसकेको छैन । नेपाल सरकारले सुविधा दिन सके एमबिबिएस जस्ता शैक्षिक कार्यक्रमका लागि आउन सयौँ विद्यार्थी खुट्टा उचालेर बसेका छन् । एडभान्सका प्रोगामहरू पनि छन् । त्यस्तै एग्रिकल्चरको रिसर्च लागि नेपाल बेस्ट हुनसक्छ । राज्यले आफ्नो शैक्षिक व्यवस्थालाई सुधार गर्ने हो भने नेपाल पनि एउटा एजुकेसन हब बन्न कुनै समस्या छैन । हामी त्यसमा लागि परेका छौँ । र भविष्यमा पनि म त्यसमै लागि पर्नेछु ।’

उनले नेपालबाट विद्यार्थी विदेश जाने क्रमलाई तोडेर अब नेपालमा विदेशी विद्यार्थी भित्र्याउने प्रक्रिया सुरु गर्नु अपरिहार्य भइसकेको बताए ।

‘हाम्रै कार्यकालमा नेपाललाई एजुकेसन हब बनाइहाल्छौँ भनेर हामी भन्दैनौँ,’ उनले भने, ‘त्यसका लागि आवश्यक नीति निर्माणका कार्यहरुको पूर्वकार्य अघि बढाउन वा त्यसतर्फ पहिलो पाइला चाल्न भने मेरो गम्भीर पहल हुनेछ ।’

उनले नेपालको शैक्षिक परामर्श क्षेत्रमा समस्या निकै र गम्भीर रहेको बताए । यसभन्दा अगाडि आफू इक्यानको साधारण सदस्य भएर रहिरहदा कतिपय मुद्दाहरुमा पहलकदमी उठाउदा समेत सम्बोधन हुन नसकेको बताउदै धरौटीको समस्या र एनओसीले बेलाबेलामा दुःख दिइरहेको बताए । उनले आफ्नो कार्यकालमा यस्ता समस्यालाई समाधान गर्न आफूले ३० असारमा हुन लागेको इक्यान निर्वाचनमा सचिव पदका लागि उम्मेदवारी घोषणा गरेको बताए ।

विभिन्न ठूला विदेशी शैक्षिक कम्पनीहरू नेपाल आएर खुलेआम १५ सय, २ हजार, २५ सयसम्म विद्यार्थी लैजाने गरेको भन्दै त्यसलाई रोक्न पनि आफूले सचिवमा निर्वाचित भएपछि सक्रिय भूमिका निर्वाह गर्ने बताए । नेपालको शिक्षा विकास गर्न विश्वविद्यालय, कलेजलाई भारतको कुनै कम्पनीलाई एक्सक्लुसिभ दिने गलत परम्परा रोक्नुपर्ने उनको भनाइ छ । त्यस्तै, भारतले नेपाललाई हेर्ने  दृष्टिकोणमा सुधार ल्याउने अभियानमा पनि आफू लागि पर्ने उनले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker