
रत्ननगर, असार २७ ।
रत्ननगरको सौराहाचोकमा खानेपानीको सार्वजानिक धारा हस्तान्तरण गरिएको छ । सिटिजन्स बैंकले रत्ननगर खानेपानी तथा उपभोक्ता संस्थालाई फिल्टर सहीतको खानेपानीको धारा बुधबार हस्तान्तरण गरेको हो । बैंकको रत्ननगर शाखा प्रमुख मधु खनालले रत्ननगर खानेपानीका अध्यक्ष माधव प्रसाद अर्याललाई खानेपानीको धारा हस्तान्तरण गरेका हुन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत स्थानीय जनता, बजारमा किनमेल गर्न आउने महानुभाव तथा यात्रीहरुलाई स्वच्छ पिउनेपानी उपलब्ध गराउने उद्देश्यले फिल्टर सहयोग गरेको शाखा प्रमुख खनालले बताए । उनले महिलालाई लक्षित गरेर साउन महिनाको हरेक सोमबार बैंकले नयाँ खाता खोल्ने महिलालाई उपहारको व्यवस्था गरेको जानकारी दिए । रत्ननगर खानेपानीका अध्यक्ष अर्यालले भानुचोक, निपनीचोक, बकुलहरचोक, सौराहाचोक, टाँडीचोक र बेल्सीचोकमा सार्वजनिक धारा सञ्चालनमा रहेको जानकारी दिए ।
यसअघी लुम्बिनी बैंकले रत्ननगरको टाँडी चोकमा धारा जडानका लागि लगानी गरेको थियो । रत्ननगरमा रहेको २ वटा धारा बैंकले लगानी गरेको र बाँकी चारवटा धारा संस्थाकै लगानीमा सञ्चालनमा ल्याइएको खानेपानीका सचिव प्रताप डल्लाकोटीले जानकारी दिए । धारा हस्तान्तरण कार्यक्रममा खानेपानीका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, कोषाध्यक्ष सरस्वती लामा,समितिका सदस्यहरु मीना श्रेष्ठ, लक्ष्मीदेवी लामिछाने भट्ट र लेखा समिति सदस्य पार्वती घिमिरे लगायतको सहभागिता रहेको थियो ।